कोभिड वारियर्सको पहलमा कोरोना संक्रमित गर्भवती अस्पताल भर्ना

-दिपु वर्णवाल                       

वीरगञ्ज १२ असोज । वीरगञ्ज रामगढवाकी २६ वर्षीया गर्भवती महिलालाई चिकित्सकले अबको एक साताभित्रै बच्चा जन्मने भनेर समय दिएको छ । गर्भवति भएको ९ महिनापछि बच्चा जन्मने भएकाले चिकित्सकले सुरुको मासिक चक्रलाई आधार मानेर बच्चा जन्मने अनुमानित समय निकाल्ने गर्छन् ।

तीन वर्ष अघि शल्यकृया गरेर बच्चा जन्माएकाले अहिले सामान्य तरिकाले बच्चा जन्माउँदा गर्भवतीलाई समस्या आउन सक्ने भएकाले फेरिपनि शल्यकृयाबाट नै बच्चा जन्माउनु पर्ने बाध्यता गर्भवतीमा छ । प्रसूती रोग विशेषज्ञ डा. दिप्ती यादव गणितीय हिसाबले बच्चा जन्मने समय निकालिने भएपनि त्यसको एक साता वर वा पर पनि बच्चा जन्मन सक्ने भएकाले जुनसुकै बेला गर्भवतीलाई अस्पताल पुर्‍याउनु पर्ने अवस्था आउन सक्ने बताउँछिन् ।

तर २६ वर्षीय ती गर्भवती महिलामा २ दिनअघि शनिबार कोभिढ परीक्षण गर्दा पोजेटिभ देखिएपछि अस्पतालले भर्ना लिन मानेन । वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजको कोभिड अस्थायी अस्पताललेसमेत भर्ना लिन नमानेपछि गर्भवती महिलालाई घरैमा राख्नु पर्ने अवस्था आयो । गर्भवतीलाई भर्ना नलिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा गएर जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएपछि बाध्य भएर घरैमा राखिएको उनका श्रीमान् इनरदीप पण्डितले बताए ।

श्वासप्रश्वासमा समस्या देखिएको र हल्का ज्वरो र खोकी पनि लागेकाले उनलाई शनिबार परिवारले वीरगञ्जकै सीता अस्पताल पुर्‍याएका थिए । अस्पतालले फिजिसियनलाई देखाउन भनेपछि उनको परिवारले एडभान्स अस्पतालमा डा. उदयनारायण सिंहलाई देखाएका थिए । सिंहले लक्षण कोभिडसँग मिल्दो जुल्दो भएकाले पीसीआर परीक्षणका लागि नारायणी अस्पताल पठाउँछन् ।

त्यही दिन दिउँसो पीसीआर रिपोर्ट पोजेटिभ आएपछि गर्भवती महिलालाई हेरिरहेका चिकित्सकले पनि हेर्न मान्दैनन् । साथै वीरगञ्जको नारायणी अस्पतालले पनि कोभिड पोजेटिभ गर्भवतीलाई भर्ना नलिने भन्दै कोभिड अस्पताल लैजान रिफर गरिदिन्छ । तर रिफर गरेको अस्पतालले भर्ना नलिएपछि जोखिम उनका परिवारजन अब कहाँ लैजाने भनेर अन्यौलमा पर्छन । सास फेर्नपनि गाह्रो भइरहेको, ज्वरो आइरहेकाले स्वास्थ्यमा नराम्रो असर पर्न सक्ने भएकाले परिवारले अस्पताल भर्ना गरेरै राख्न चाहेका थिए । तर कुनै अस्पतालले पनि भर्ना नलिएपछि गर्भवतीलाई घरमै लैजान परिवार बाध्य हुन्छ ।

घर नजिकै रहेका एक जना स्वास्थ्यकर्मीको सहायताले उनको परिवारले घरैमा गर्भवतीलाई अक्सिजन दिने व्यवस्था मिलाउँछन् । अक्सिजनको बन्दोबस्ती मिलाउन आफन्तले १५ हजार रुपैयाँ धरौटी राख्नुपरेको छ । केही समय अघि विभिन्न संघसस्थाले संक्रमितलाई श्वास फेर्न गाह्रो भए घरघरमै निशुल्क अक्सिजन पुर्याउने बताएका थिए । तर यी गर्भवतीका लागि त्यो सुविधा पनि प्राप्त हुँदैन ।

अस्पताल लगेर राख्नु पर्ने अवस्थामा सक्रमित भएकै कारण उल्टै घरैमा लगेर राख्नु पर्दा परिवार पनि चिन्तित भएका थिए ।

शनिबार सबै तिर हारगुहार गर्दा पनि केही नलागेपछि बाध्यताबस घरैमा लगेर राख्नुपरेको कुरा आइतबार सञ्चारमाध्यममा सार्वजनिक भयो । त्यसपछि आइतबार राति नै कोभिड वारियर्सको टोलीले प्रसुती रोग विशेषज्ञ डा. दिप्ती यादवसहित संक्रमित गर्भवतीको घरमा पुगेर उनको स्वास्थ्य अवस्था बारे जानकारी लिन्छ । त्यहीँबाट प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई गर्भवतीको स्वास्थ्य अवस्थाबारे कोभिड वारियर्सको टोलीले अवगत गराउँछ ।

प्रमुख जिल्ला अधिकारी तामाङलाई डा.यादवले गर्भवतीलाई जुनसुकै बेला पनि अस्पतालमा लैजानुपर्ने अवस्था आउन सक्ने भएकाले त्यसको व्यवस्था मिलाउन टेलिफोन बाटै आग्रह गर्छिन् । सिडियो तामाङले पनि गर्भवतीलाई यथाशक्य चाँडो अस्पताल भर्ना गराउने प्रतिबद्धता जाहेर गर्छन् ।

सिडियो तामाङले राति नै गर्भवति महिलालाई जसरी पनि उपचारको व्यवस्था मिलाउन नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.सञ्जय ठाकुरलाई निर्देशन दिन्छन् । त्यही अनुरुप मेडिकल सुपरिटेण्डेण्ट डा.ठाकुरले संक्रमित गर्भवतीका परिवारलाई राति नै फोन गरेर अस्पतालमा ल्याउन एम्बुलेन्स पठाउने खबर गर्छन् । अस्पतालले सोमबार बिहानै घरैमा एम्बुलेन्स पठाएर संक्रमित गर्भवतीलाई अस्पताल लगेको श्रीमान इनरदीप पण्डितले जानकारी दिए ।

गर्भवती श्रीमतीसँगै एम्बुलेन्समा श्रीमान इनरदीप पनि अस्पतालसम्म पुगेका थिए । गर्भवती श्रीमातीलाई अस्पतालले भर्ना लिएपछि इनरदीपले अहिले बल्ल राहतको सास फेरेका छन् । श्रीमतीलाई केही भइहाल्ने हो कि भन्ने चिन्ता थियो धन्य केही भएन, अब अस्पताल भर्ना गरेपछि ढुक्क भएको श्रीमान इनरदीप बताउँछन् ।

सुत्केरी हुने दिन नजिकै भएकी महिला संक्रमितहरु आउँदा दिनमा अझ बढ्न सक्छन् भनेर अस्पताल तयारीमा अवस्थामा बस्नु पर्ने बताउँछिन् डा.दिप्ती यादव । ‘गर्भवतीलाई संक्रमित हुनासाथ अब हामी हेर्दैनौँ भन्नु जबर्जस्ति मर्न पठाउनु जस्तै हो,’ उनी भन्छिन्, ‘त्यसमाथि गर्भवतीको शल्यकृया गर्नुपर्ने अवस्था रहेकाले भर्ना नै लिदिन भन्नु मानवीय धर्म विपरित हो ।’

संम्बन्धित समचार

Leave a Reply