बागलुङ बाढीपहिरो : १६ जना अझै बेपत्ता !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन १३, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १३, बागलुङ । यो वर्षको मनसुन सुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका बागलुङका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका–९ का १५ जना बेपत्ता छन् । त्यसअघि साउन १० गते बागलुङ नगरपालिका १ मा खसेको पहिरोले टिपर पुर्दा हराएका चालक निर्मल पुन पनि अझैसम्म बेपत्ता छन् । महिना दिन बित्न लाग्दासमेत बाढीमा परेकाहरू नभेटिएपछि प्रहरीले खोजबिन गर्न छाडेको छ । सुरक्षाकर्मी र उद्धारकर्ता हप्तौंसम्म बेपत्ताको खोजीमा जुटेका थिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बेपत्ता भएका सकुशल भेटिने सम्भावना न्यून रहेको बताए । सुरक्षाकर्मीले छिमेकी गुल्मीसम्म पुगेर बाढीले बगाएका शवको उद्धार गरेका थिए । जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धीरेन्द्रराज पन्तले बेपत्ता भएकाका परिवारलाई पनि मृतकका परिवार सरह राहत दिलाउन प्रक्रिया अगाडि बढाइएको बताए । उनका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढीपहिरोमा बेपत्ताको खोजबिन र स्थलगत अध्ययनका लागि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश गौतमको संयोजकत्वमा उपसमिति गठन गरेको छ । सरकारले मृतक परिवारलाई दुई लाख रूपैयाँ राहत प्रदान गर्दै आएको छ । यस्तै एउटै परिवारमा अन्य सदस्यको पनि मृत्यु भएमा थप एक लाख रूपैयाँका दरले राहत उपलब्ध हुने गरेको छ ।
बेपत्ता भएका परिवारलाई पनि तत्कालका लागि राहतस्वरुप १५ हजार दिने गरिएको छ । यो वर्ष बाढीपहिरोका कारण ढोरपाटनसहित जैमिनी नगरपालिका, निसीखोला, तमानखोला, ताराखोला, बडिगाड, काठेखोला गाउँपालिकालगायत क्षेत्रमा जनधनको क्षति भएको छ । भूजीखोलाको बाढीमा सबैभन्दा बढी २२ जनाको मृत्यु भएको थियो । रासस

ताजा अपडेट

खोजी गर्नुहोस