कविता-हराएका मेरा बा !

हराएका मेरा बा

एक उद्वेकलाग्दो शहरभित्र
रुमल्लीन पुगेको छु
आमा म
तिमीलाई छाडि आएदेखि ।
लोकतन्त्रको घोषणा भएकै दिनदेखि
हराएका मेरा बा खोज्न हिडेको म
आमा !

आज यतिका वर्ष भैसक्यो
हाम्रो भित्ताको त्यो रेडियोले
लोकतन्त्रको गित बजाएको
एक १९ वर्षिए किशोरीको
सिउँदोमा सिन्दुर छर्किई
गर्भमा एक भ्रुण छाडी
लोकतन्त्र जगाउनका निम्ति
राष्ट्र बचाउनका निम्ति
गएका मेरा पिता
खै किन फर्किएनन् आजसम्म ?

त्यहि रेडियोले सुनायो
मलाई एउटा गित
‘जाग लम्क चम्क हे नौ जवान हो’
र म पनि केहि नयाँ आशामा
बा को खोजीमा हिडिरहेको छु ।

मानसपटलमा घुमिरहेको छ
एक अपरिचित नाताको क्यानभाष
आमा !
सायद मेरा बा उनी नै हुन्
उ त्यो क्षितिजपारीको बस्तीमा
एक नदि किनारमा गिट्टी कुटिरहेका छन्
र गनिरहेका छन् मर्ने मिति ।

आज एक जवान
मुसाफिर बनी हिडिरहेको छ
सडकसडकमा
चोकचोकमा, र गल्लीगल्लीमा
आशाको दियो बाल्दै
कल्पनाको सागरमा डुब्दै
खै यो कस्तो संसार,
जसका लागि उ आयो,
उसैलाई नभेटि हरायो ।

आमा
समयलाई पर्ख,
हातको चुरा र सिउँदोको सिन्दुर
मलाई नसोधी फाल्न दिनेछैन
म अझैपनि आकाशका चन्द्रमालाई नियालीरहेछु
कतै मेरो बाको अनुहार पाउँछु कि भनी ?
तिम्रो जवानीलाई जोगाउनका निम्ति
म आजसम्म पनि प्रत्येक बगरबगर भौतारीईरहेछु
आज
मेरै बाको उपहार लोकतन्त्र
हाम्रो साथमा छ।

आज फेरी रेडियोले अर्को गीत बजायो
‘बन्दैन मुलुक दुईचार सपुत मरेर नगए’
हो आमा
म निशव्द छु,
कसरी भनौ यी कुरा ?

आजसम्म हामीलाई बचाउनका निम्ति
उनले पहिलले नै
ज्यानको बली चढाईसकेका छन् ।

सहिदहरुको सुचीमा हाँसिरहेका छन् मेरा बा ।
त्यसैले आमा, लोकतन्त्र रहेसम्म
तपाईँको सिउँदो पुछ्न हुन्न
बा यहि भन्दै हुनुहुन्छ
मनभित्रको मनबाट ।
हो आमा,
मनभित्रको मनबाट ।

-परिवर्तन देवकोटा
काठमाण्डौँ ।

संम्बन्धित समचार

Leave a Reply