कविता-कान्छी दोकानको तङ्बा

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७५ भाद्र २३, शनिबार (५ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

कान्छी दोकानको तङ्बा

फेदेनबाट बिहानै उठेर उकालो चढेपछि
तुरी गर्न पुगिन्छ कान्छी दोकान ।
प्रत्येक दिन पारि कुम्भकर्णको शिरले
घाम ब्याउनुपूर्वै
दुई मुखे चुह्लोमा
एकापट्टि सुँगुर चारो र
अर्कोपट्टि जाँड तात्न थाल्छ ।
कान्छी : उहिले नछुने पनि नभई
दोकानमा बसेकी हो ।
सित्तैमा हेर्न पाइन्थ्यो उसबेला
कान्छीको भर्भराउँदो वैँश
विडम्बना !
रक्सीका गिलाससँगै गुमाई कुमारित्व
जाँडका खोरेसँगै बगाई उर्लिँदो वैँश ।
फाक्साको सुकुटीसँगै सुकी गए
यौवनका करोडौँ खुशीहरु ।
सूर्यास्तसँगै थुनिन्छन् भट्टीभित्रै कान्छीका बाँकी रहर ।
बिर्खेनी फुपू !
जुङ माथि कान्छी दोकान
फुपाजुको पेन्सन थापेपछि ।
सेर्गेम र चम्बासँग
जाडो छिचोल्ने अलिकति कोदोको सुप चाखौँला ।
सित्तैमा हेर्न पाइन्छ
सेतो रजस्वलाले ढाकेको सिलौटे डाँडा ।
कान्छी दोकानको नाइटो तल्तिर बसेको
फेदेनलाई अङ्गालो मार्दै
मुस्कुराएको हेरुङ्ला ।
भरे फर्कँदा बाजेलाई
एक मुठा भाले निगुरोसँग
दुई धार्नी फाक्सा बोकी झरुङ्ला ।
बिर्खेनी फुपू ! सारै छिप्पेको छ रे !
कान्छी दोकानमा कोदोको तङ्बा ।
तङ्बासँगै नेटो काट्न लागेको वैँशमा
लाहुरे तुम्बाहरु मेसो मिलाएर जान्छन्
कान्छी दोकानमा तङ्बा खान ।
अर्गानिक ठर्रा पिएर तुम्बाहरुले
माघको न्यानो रात कान्छीसँग बिताए भने
के भयो त !
कान्छी कसैकी स्वास्नी पनि त होइन नि !
पेन्सनको आधा रकम त
ख्यालख्यालमै रित्याई पठाउँछन् ।
धनसारे कान्छाहरु हप्ता टुटाउँदैनन् ।
र गाउँछन् पालाम :
” फिदिम है माथि कान्छी दोकान
एकसरे माया लाउँ भन्छ मन ।
फुङ्गेको जाँड छपनीमै
कान्छीलाई देख्छु सपनीमै ।
वैँशको रहर लाउँदा खेरि
घरबाट ढाँटी आउँदा खेरि ।
वैँशमै मीठो भोग विलास
थपुँ कि कान्छी एक गिलास …”
पालाम गाउँदै सकियो कान्छीको घर खाने उमेर
जाँड छान्दै ढल्किए यौवनका रहर ।
आजकाल कान्छी दोकानमा
कान्छीको वैँश भन्दा त
कोदोको तङ्बै मीठो छ फुपू !
जुङ कान्छी दोकानमा
तङबासँगै सुनी पठाङ्ला
कान्छीले भे(विहे) नगरी बस्नुको कथा पनि ।

आर.पी.गाउँले

ताजा अपडेट

खोजी गर्नुहोस