डब्ल्युएचओ प्रतिनिधिको रूपमा डा.पाण्डवद्धारा मन्त्री ज्ञवालीसमक्ष ओहोदाको प्रमाणपत्र पेश

Post Thumbnail

असोज २१,काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि विश्व स्वास्थ्य संगठनको प्रतिनिधिको रूपमा हालै नवनियुक्त हुनुभएका डा. राजेश समबाजी राव पाण्डवले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरे ।

डा.राजेश काठमाडौं असोज २ गतेका दिन नेपाल स्थित विश्व स्वास्थ्य संगठनको प्रतिनिधिको रूपमा आफ्नो कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका थिए ।

डा.राजेशले भने, ‘‘नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले विगतको ५० वर्षमा बलियो साझेदारी विकास गरेका छन् । यो साझेदारीले स्वस्थ नेपालको साझा उद्देश्य बोकेको छ । मैले नेपाल सरकार र अन्य साझेदारहरूसँगको साझेदारीलाई थप सुदृढीकरण गर्न र सबैका लागि स्वास्थ्यको महत्वपूर्ण एजेन्डालाई अघि बढाउने तर्फ पहल गर्नेछु।’’

उनले नेपालमा स्वास्थ्यकर्मीहरूले गरिरहेको कामको महत्वलाई जोड दिदै भने,‘‘सबैका लागि अत्यावश्यक स्वास्थ्य सेवाहरूको सुनिश्चितता गर्दै कोभिड—१९ महामारीको सामना गर्नका लागि हामी सबैले एकजुट हुनु अत्यावश्यक रहेको छ । विश्वभरि नै र नेपालमा पनि अग्रपंक्तिमा कार्यरत स्वास्थ्य कर्मीहरूमा बढिरहेको कोभिड—१९ को संक्रमणले गर्दा म चिन्तित छु । यदि स्वास्थ्यकर्मीहरूनै जोखिममा भएमा, हामी सबै जोखिममा हुन्छौँ ।’’

विश्व स्वास्थ्य संगठनको प्रतिनिधिको रूपमा कार्यभार सम्हाल्दै र नेपालका जनतालाई आउँदै गरेको चाडपर्वका लागि शुभकामना व्यक्त गर्नुको साथै अपिल गर्दै भने, ‘‘नेपाली समाजका प्रत्येक सदस्यलाई जिम्मेवार भएर चाडपर्व मनाउनु हुन म आग्रह गर्न चाहन्छु । भीडभाड गरेर एकै ठाउँमा जम्मा हुँदा यो रोग देशका सबै कुनासम्म विस्तार हुन सक्छ ।’’ नेपालका युवाहरुलाई अपिल गर्दै उनँले भने, ‘‘युवाहरूले घरका जेष्ठ सदस्यहरू तथा जोखिममा रहेका अन्य सदस्यहरूको सुरक्षाको सुनिश्चितता गर्नुपर्दछ । युवाहरू पनि कोभिड—१९ को समान जोखिममा रहेका हुन्छन् भनेर समेत उनीहरूले मनन् गर्नुपर्दछ । उनीहरूसँग दुइटा विकल्पछन –(जोखिम समूहमा रहेकाहरूको जीवनरक्षा गर्ने वा उनीहरूलाई जोखिममा पार्ने ।’’

नेपाल आउनु पूर्व, डा राजेश सन् २०१५ अप्रिलदेखि सन् २०२०, सप्टेम्बरसम्म टिमोर–लेस्टेको लागि विश्व स्वास्थ्य संगठनको प्रतिनिधि थिए । उनले सन् २००४ यता विश्व स्वास्थ्य संगठनमा विभिन्न पदमा रहेर सेवा गरेका छन् । विगतमा उनि विश्व स्वास्थ्य संगठन, टिमोर–लेस्टेमा अवस्थित कार्यालयका लागि स्वास्थ्य नीति सल्लाहकार (सन् २०११—मार्च, २०१५), मेडिकल अधिकृत (जनस्वास्थ्य), विश्व स्वास्थ्य संगठनमाल्दिभ्स कार्यालय (सन् २००९—२०११), विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालयको मानसिक स्वास्थ्य तथा लागूऔषध दुरूपयोग इकाइमा मेडिकल अधिकृत (सन् २००४—२००९) को रूपमा कार्यरत थिए ।

डा.राजेशको विशिष्ट सेवाको उच्च मूल्याङ्कन गर्दै, उनलाई सन् २०१६ मा स्वीजलेण्डको जेनेभामा विश्व स्वास्थ्य संगठन महानिर्देशक विशिष्ट पुरस्कारबाट सम्मानित गरिएको थियो भने टिमोर–लेस्टेमा शारीरिक गतिविधिलाई प्रबर्धन गर्दै ‘‘वाक द टक’’ अभियानलाई उत्कृष्ट नेतृत्व प्रदान गरेकोमा विश्व स्वास्थ्य संगठनको टिमोर–लेस्टेको कार्यालयलाई सन् २०१८—१९ का लागि विश्व स्वास्थ्य संगठन महानिर्देशकको विशिष्ट पुरस्कार प्राप्त गरेका थिए ।

डा.राजेशले पियर रिभ्युजर्नल हरूमा विभिन्न वैज्ञानिक आलेखहरू प्रकाशित गरेका छन् । विश्व स्वास्थ्य संगठनमा आबद्ध हुनुपूर्व, डा.राजेश संयुक्त राज्य अमेरिकास्थित पिटस्वर्ग विश्वविद्यालय मेडिकल सेन्टर अन्तर्गत वेस्टर्न साइक्याट्रिक इन्टिच्युट एण्ड क्लिनिकमा वरिष्ठ अनुसन्धान सहायकको रूपमा कार्यरत थिए । उनले ग्रान्ट मेडिकल कलेज, मुम्बई, भारतबाट एमबिबिएसको तालीम तथा प्रमाणपत्र हासिल गरेका छन् । उनले संयुक्त राज्य अमेरिकास्थित पिटस्वर्ग विश्वविद्यालयबाट जनस्वास्थ्यमा स्नाकोत्तर गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस