स्वास्थ्यकेन्द्र लैजाँदै गर्दा बाटैमा सुत्केरी महिलाको मृत्यु, बुबा-आमा भन्छन्-‘बुढेसकालको सहारा चुँडियो’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन २४, शनिबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असोज २४, बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिका–४ कुरुकी २३ वर्षीया अम्बकलाकी बिहीबार प्रसूति–व्यथाले ज्यान गएको छ । व्यथाले च्यापेपछि कोल्टी लैजाँदै गर्दा बिहीबार साँझ बाटैमा उनको मृत्यु भएको हो । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र गाउँदेखि पाँच घण्टा पैदल दूरीमा छ । छोरीको मृत्युसँगै ६५ वर्षका बुवा सिंहवीर र आमा बिसा रोकायाको बुढेसकालको सहारा पनि चुँडिएको छ ।

‘बिहानतिर बेथा सुरु भएको हो । अप्ठेरो हुँदै गएपछि दिउँसोतिर आफन्त भेला भएर कोल्टी लैजाने निर्णय गरेका थिए,’ वडाध्यक्षसमेत रहेका अम्बकलाका नातेदार राजन रोकायाले भने, ‘करिब एक घण्टा तल दोगाडेमा पुगेपछि उनको मृत्यु भयो ।’ उनका अनुसार बर्खाले घोडेटो बाटो पनि भत्केकाले झनै असजिलो थियो । गर्भवतीलाई ओरालो बाटोमा बोकेर लैजान झन् बढी समय लाग्यो । ‘दोगाडे पुगेपछि अम्बकला सुत्केरी भइन् तर अत्यधिक रक्तस्रावले केही समयमै मृत्यु भयो,’ रोकायाले भने । अम्बकलाले जन्म दिएकी छोरीको स्वास्थ्य भने ठीकै रहेको उनले बताए ।

कुरु गाउँ कोल्टी क्षेत्रकै सबैभन्दा विकट ठाउँ हो । ३ सय ९५ परिवार बसोबास गर्ने गाउँमा प्रसूति केन्द्र छैन । आधारभूत स्वास्थ्य इकाइ भए पनि सुत्केरी गराउने तालिम प्राप्त स्वास्थ्यकर्मी नभएको अनमी ताराकुमारी सिंहले बताइन् । ‘भौतिक पूर्वाधार र सामग्री सबै छ तर जनशक्ति छैन,’ उनले भनिन्, ‘कुरुका गर्भवतीलाई निकै अप्ठेरो छ ।’ अनमी सिंहका अनुसार ०७४ सालसम्म प्रसूति केन्द्र सञ्चालनमा थियो । स्थानीय तह बनिसकेपछि त्यहाँ कार्यरत तालिम प्राप्त स्वास्थ्यकर्मीको सरुवा भएपछि सेवा बन्द भएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस