भाद्र २५, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको सनुवाइ सोमबार हुँदैछ ।
संसदीय सुनुवाइ समितिले मिश्रविरुद्ध परेका उजुरीको बारेमा प्रश्न गर्दै अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने भएको हो ।
यसअघि सिफारिस भएका न्यायाधीश दीपकराज जोशीको नाम सुनुवाइ समितिबाट अस्वीकृत भएपछि संवैधानिक परिषद्ले भदौ ७ गते मिश्रको नाम नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो ।
मिश्रमाथि चार उजुरी परेका थिए। चारमध्ये एक उजुरीकर्ताले उजुरी फिर्ता लिई सकेका छन्। अब संसदीय विशेष समितिमा तीन थान उजुरी छन् ।
उजुरीकर्तासँग समेत छलफल गर्दै समितिले मिश्रलाई सुनुवाइका लागि बोलाएको हो । २०७१ जेठ १३ गते सर्वोच्चका स्थायी न्यायाधीश भएका मिश्र प्रधानन्यायाधीश भए पनि कार्यकाल जम्मा पाँच महिनाको मात्रै हुनेछ। १८ पुसमा मिश्रले अवकाश पाउनेछन् ।