काम प्रधानन्यायाधीस भन्छन- ‘मुद्दा फस्र्योट न्याय नमर्ने र न्यायको अनुभूति हुनेगरी’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ १३, आईतबार (६ साल अघि)
  • ४३ पटक पढिएको
Post Thumbnail

जेठ १३,काठमाडौँ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले मुद्दा फस्र्योट संख्यात्मकभन्दा पनि न्याय नमर्ने र न्यायको अनुभूति हुनेगरी गर्नुपर्ने बताएका छन ।

सर्वोच्च अदालतले आज सौराहामा आयोजना गरेको ‘मेलमिलापको सफलताका लागि न्यायाधीश र मेलमिलापकर्ताहरुको भूमिका’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आमजनताले न्यायको अनुभूति हुनेगरी मुद्दालाई किनारा लाउनुपर्ने बताए ।

मेलमिलापको चरणमा एउटा न्यायाधीशले आफूलाई निर्णयकर्ताभन्दा पनि सहजकर्ताका रुपमा प्रस्तुत गर्नु बढी उपयोगी हुने भन्दै उनले मेलमिलापकर्ताले पक्षलाई सदैव मेलमिलापमुखी सुझाव दिई अनौपचारिक संवाद र राय सल्लाहका क्रममा प्रोत्साहन दिन सक्ने बताए ।

उनले मेलमिलापकर्ताका रुपमा दरिएका कानून व्यवसायीको अर्को पक्षको कानून व्यवसायीसँगको सद्नियतपूर्वकको मित्रवत् व्यवहार र सम्बन्धले पनि यदाकदा सकारात्मक भूमिका देखाएको बताए । मेलमिलापकर्ताको हकमा व्यावसायिक गुणको चर्चा गर्ने वा बुँदागत रुपमा उल्लेख गर्नेभन्दा पनि कार्यक्षेत्रमा वास्तविकता प्रदर्शन गर्ने ठूलो कुरा भएको भन्दै उनले भने, “मेलमिलापको सफलता भन्ने विषय कुनै एउटा दृष्टान्त वा सन्दर्भसँग मात्र सम्बन्धित हुँदैन । यो सापेक्षिक विषय पनि हो ।”

उनले थपे, “अनुपातका हिसाबमा आधिकाधिक विषयमा मेलमिलाप गराउनसक्नु र ती सबै विषयमा पक्षहरुको पूर्ण सन्तुष्टिसहित विवादको निरुपण गर्न सकेमा सफलतातर्फ उन्मुख मान्न सकिन्छ । यस पक्षबाट विवेचना गर्दा मेलमिलापकर्ताको कस्तो भूमिकाले सफलताको अवस्था सुनिश्चित गर्छ भन्नेमा आज हामी केन्द्रित छौँ ।”

मेलमिलापको सफलताको सन्दर्भ समाजको दीर्घकालीन शान्तिसँग सम्बन्धित रहने भएकाले हामीले मेलमिलापलाई अलि दार्शनिक कोणबाट पनि विवेचना र प्रयोग गर्नुपर्ने भन्दै उनले न्यायकर्ताले निर्णायक भएर एउटा विवादको निरुपण गर्नेमात्र नभई विषय र व्यवस्थाको समग्र सैद्धान्तिक पक्षलाई नै गौर गर्नुपर्ने बताए ।

जिल्लाहरुमा एकजना न्यायाधीश भएको ठाउँमा न्यायाधीश र स्रेस्तेदारले एकैपटक बिदामा बस्दा सेवाग्राही मर्कामा पर्ने गरेका उहाँले बताउनुभयो ।

कार्यक्रममा सर्वोच्च अदालतका रजिष्टार महेन्द्रनाथ उपाध्याय र उच्च अदालत पाटनका न्यायाधीश तिलप्रसाद श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा मेलमिलापबाट हुने सफलताका बारेमा सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईले प्रकाश पार्नुभएको थियो भने कार्यक्रममा मेलमिलापका क्षेत्रमा काम गर्ने न्यायाधीश र मेलमिलापकर्ताको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस