आज हरितालिका तीज : पशुपतिनाथमा भक्तजनको भीड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र २७, बुधबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भाद्र २७,काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।

यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।

सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्रीमहादेव पति पाउने कामना गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले उनलाई हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन् । ‘निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ,’ उनले भने ।

‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनि मात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुने अध्यक्ष गौतमको भनाइ छ ।

पशुपतिनाथमा भक्तजनको भीड

भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका ९तीज० पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि भीड लागेको छ ।

दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ । मन्दिरका चार ढोका बेलुकी आठ बजेसम्म खुला गरिनेछ । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा अत्यधिक भीड लागेको छ ।

पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि तीन मार्गको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । मित्रपार्क–गौरीघाट–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गरी रुद्रगाडेश्वर नयाँ फलामे भ¥याङ हुँदै कैलाश दक्षिण जुत्ता चप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको छ । जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्यमठ दक्षिण हुँदै फलामेपुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस