रघुगंगा नदीमा बाढी : विद्यालय भवन बगायो, बेनी बजार जोखिममा !

Post Thumbnail

भाद्र २८,म्याग्दी । नदीमा आएको बाढीले विद्यालयको भवन बगाएको छ । रघुगंगा गाउँपालिका ८ घ्याँसीखर्क स्थित रितुङ माविको भवन बाढीले बगाएर क्षत्ती पु¥याएको हो ।

छहरी भन्ने ठाउँमा पहिरोले रघुगंगा नदी थुनिएपछि बुधबार साँझ आएको बाढीले कटान गरेर विद्यालयको दुई वटा भवन, एक वटा शौचालय पूर्ण र एक वटा भवन आधा बगाएको वडा अध्यक्ष गमान छन्त्यालले जानकारी दिए ।

उनका अनुसार ४ कोठे र २ कोठे भवन पूर्ण तथा ३ कोठे भवनको आधा भाग बगाएको छ । घ्याँसीखर्क स्थित स्वास्थ्य चौकीको भवन खोलाले बगाएर ल्याएको बाढी थुप्रिएर पुरीएको छ । तिन वटा झोलुङ्गे पुलमा पनी बाढीले क्षत्ती पु¥याएको छ ।

खरिबोट स्थित बेलबहादुर छन्त्याल, चन्द्रबहादुर छन्त्याल र यमबहादुर छन्त्यालको घर नदीले कटान गरेर बगाएको छ । कुईनेमंगलेको तेर्सो भन्ने ठाउँमा अर्को एक वटा घर पनि रघुगंगामा आएको बाढीले बगाएको वडा अध्यक्ष छन्त्यालले बताए ।

करिब बिस घरको बसोबास रहेको घ्याँसीखर्क गाउँ नदी कटानका कारण जोखिममा परेको छ । यसैगरी माथिल्लो क्षेत्रका विभिन्न ठाउँमा गएको पहिरोपछि रघुगंगा र कालीगण्डकी नदीमा आएको बाढीले तटीय बस्तीहरुमा क्षत्ती पु¥याएको छ ।

सदरमुकाम बेनी बजार संरक्षणका लागि कालीगण्डकी नदीको किनारमा निर्माणाधिन पक्कि पर्खाल बाढीले बगाएको प्रजिअ लिलाधर अधिकारीले बताए । करिब पचास मिटर पक्कि पर्खाल बगाएर बस्तीतर्फ कटान गर्न थालेपछि बेनी बजार उच्च जोखिममा परेको छ । यसैगरी रघुगंगा गाउँपालिका ३ राहुघाटको बस्ती र बेनी जोमसोम सडक अन्तरगतको बेलिब्रिज कटानको जोखिममा परेको छ ।

कालीगण्डकीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका २ वारीबेनीदेखि बगरफाँटतर्फ जाने करिब दश मिटर सडक बगाएको बगरफाँटका सुरेशबहादुर बिकले बताए । कटान र पहिरोका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस