कोरोना भाइरस नेपाल: कडा लकडाउन गर्ने मेयरहरूको माग, गृह भन्छ ‘छलफलै भएको छैन’

Post Thumbnail

मंसिर ३, काठमाण्डौ । काठमाण्डू उपत्यका कोभिड(१९ को केन्द्रविन्दु बनेपछि मङ्सिरमा कडा लकडाउन गर्न स्थानीय जनप्रतिनिधिले गरेको मागबारे सरकारी अधिकारी र विज्ञले मिश्रित प्रतिक्रिया दिएका छन्।

अघिल्लो साता कोभिड(१९ सङ्कट व्यस्थापन सञ्चालन केन्द्र सीसीएमसीको निर्देशक समितिसँग उपत्यकाका सबै मेयरले छठ सकिएलगत्तै लकडाउन गर्न माग गरेका थिए।

लकडाउन गरिए सङ्क्रमण विस्तार कम हुने कुरामा गृहमन्त्री रामबहादुर थापाले सकारात्मक टिप्पणी गरेको मेयर सङ्घका उपाध्यक्ष एवम् ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए।

तर गृह मन्त्रालयका प्रवक्ताले उपत्यकामा लकडाउन हुने सम्भावना नदेखेको बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओको अनुसार देशभरको सङ्क्रमणमध्ये काठमाण्डू उपत्यकामा ४६ प्रतिशत र बागमती प्रदेशमा देखिएका सङ्क्रमण मध्ये ८५ प्रतिशत उपत्यकाका तीन जिल्लामा रहेको छ।

लकडाउनको माग किन?

मेयर महर्जनका अनुसार उपत्यकाका केही मेयरहरूले कडाइका साथ लकडाउन गरिएको खण्डमा सङ्क्रमणको दर नियन्त्रण गर्न सकिने धारणा राखेका थिए।

“त्यसपछि गृहमन्त्रीले छठपछि दुई हप्ताका लागि लकडाउन गर्ने सोचमा नेपाल सरकार रहेको भन्नुभयो। तर अहिले विधि पुगेको छैन, विधि पुर्याएर त्यो काम गर्छौँ भनेर भन्नुभयो।”

“मैले चैत ११ गते जस्तो घोषणा गर्ने अनि त्यसपछि हात बाँधेर बस्नुहुँदैन भन्ने धारणा राखे। अब लकडाउन गर्ने हो भने त्यो बीचमा के के गर्ने भन्ने कार्यक्रम हामीसँग हुनुपर्छ,” महर्जनले भने।

“परीक्षण र कन्ट्याक ट्रेसिङ गर्नुपर्छ भन्दा गृहमन्त्रीले १४ दिनपछि अझै एक साता लकडाउन थप्न सकिने पनि सङ्केत गर्नुभएको छ।”

सङ्क्रमण दर रोक्नुपर्ने आवश्यकता

सीसीएमसीको निर्देशक समितिसँग उपत्यका मेयर फोरममा आबद्ध १८ वटा नगरपालिकाका मेयरहरू बैठक बसेका थिए।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल भन्छन्, “उपत्यकामा यसै गरी तीव्र रूपमा सङ्क्रमण फैलने हो भने यो जाडोमा हाम्रा अस्पतालहरूले धान्न सक्ने अवस्था रहँदैन।”

“सरकारलाई समस्या हुन्छ। तसर्थ यो चाडपर्वपछि बढेको यो सङ्क्रमण दरलाई नियन्त्रण गर्न पहिल्यै सूचना गरेर सबैलाई एक्लिएर बस्न अनुरोध गर्नुपर्यो भन्ने कुरा उठेको छ।”

“१४ दिनसम्म कडा लकडाउन गर्न सकियो भने सङ्क्रमण अरूमा सर्ने सम्भावना हुँदैन र लागेको पनि निको हुन्छ भन्ने राय आएको हो। लकडाउन गर्ने अभ्यास संसारका अन्य देशमा पनि भइरहेको हुनाले मलाई पनि यो ठिक हो कि जस्तो लागेको छ।”बिबिसिबाट

ताजा अपडेट

खोजी गर्नुहोस