लोकप्रियता देखेर सबै आत्तिए : प्रधानमन्त्री ओली

मंसिर ८, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरूद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्नेजस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उनले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गरे ।

फक्ताङलुङ गाउँपालिका ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गर्दै उनले सरकार मुलुकको समृद्धिका लागि चौतर्फी रूपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताए । ‘हामी समृद्धिका लागि अघि बढिरहेका छौं तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरूद्ध भ्रम फैलाइरहेका छन्, यो कार्य त्रुटीपूर्ण हो,’ प्रधानमन्त्री ओलीले भने ।

अर्को प्रसङ्गमा उनले छिमेकी मुलुकसँगको सम्बन्धलाई सुदृढ गर्ने नीति सरकारले लिएको बताए । छिमेकी भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गर्न गरेको प्रयास, भारत र चीन दुबैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्नेजस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको उनको भनाइ थियो ।

उनले घुन्सा जस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा नै सुगममा परिणत हुने बताउँदै यस क्षेत्रको विकासका लागि यातायातलगायत पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै हालसम्म कञ्चनजङ्घामा आउने पर्यटकका लागि लिनुपर्ने विशेष अनुमति प्रावधान खारेज गरिने र पर्यटकका लागि सो क्षेत्र खुला गरिने उनले बताए ।

घुन्सावासीले राखेका विभिन्न मागलाई सरकारले ध्यान दिनेसमेत उनको भनाइ थियो ।
प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका १० विद्यार्थीलाई पाँच लाख रुपैयाँको छात्रवृत्ति दिने दिएकी छन् । उनले ज्येष्ठ नागरिक तथा वृद्धवृद्धालाई न्यानो कपडासमेत वितरण गरिन्। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सुवास नेम्वाङलगायतको सहभागिता थियो ।

 

 

संम्बन्धित समचार

Leave a Reply