कक्षा १२ को परीक्षा भोलिदेखि, कोरोना संक्रमितले पछि दिन पाउने : शिक्षामन्त्री

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर ८, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर ८, काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ढुक्क भएर परीक्षा दिन विद्यार्थीलाई आग्रह गरेका छन् । मंगलबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ । यसै सन्दर्भमा मन्त्री पोखरेलले भिडिओ सार्वजनिक गर्दै ढुक्क भएर परीक्षा दिन विद्यार्थीलाई आग्रह गरेका हुन् । कक्षा १२ को परीक्षा गत वैशाखमा हुनुपर्ने भए पनि कोरोना महामारीले गर्दा रोकिएको थियो । त्यसबेला स्थगित गरिएको परीक्षा मंसिर ९ गतेदेखि गर्न लागिएको मन्त्री पोखरेलले जानकारी दिए। परीक्षाका सबै तयारी पूरा भइसकेको छ । यो परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गर्नेछ । कोरोना संक्रमण भएर परीक्षामा उपस्थित हुन नसकेका विद्यार्थीलाई पछि परीक्षा दिन सकिने पनि मन्त्री पोखरेलले बताए । ‘कोरोना संक्रमित भए पछि परीक्षाको व्यवस्था गरिएको छ,’ उनले भने । कक्षा १२ को परीक्षाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रश्न नउठोस् भनेरै महामारीका बीच पनि परीक्षा लिनु परेको मन्त्री पोखरेलको भनाइ छ ।

कूल पूर्णाङ्कमध्ये ४० प्रतिशत मात्रै लिखित परीक्षा हुनेछ । अरू कक्षा ११ को अंक, आन्तरिक कक्षा कार्य तथा बेलाबेला लिइएका परीक्षाबाट विद्यालयले आन्तरिक मूल्यांकन गरी राष्ट्रिय परीक्षा बोर्डमा अंक पठाउनेछन् ।
परीक्षा केन्द्रमा भिडभाड नगर्न पनि मन्त्री पोखरेलको आग्रह छ । परीक्षा केन्द्रमा उपस्थित हुनेले अनिवार्य मास्क लगाउनु पर्नेछ भने भौतिक दूरीसमेत कायम गर्नुपर्ने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस