संसद बैठक : तातोपानी नाका खुलाउन सरकारसँग सांसदहरुको माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र ३०, शनिबार (५ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भाद्र ३०,काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले तातोपानी नाका खुलाउन आवश्यक तयारी गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकको शून्य समयमा बोल्दै सांसद अग्निप्रसाद सापकोटाले तातोपानी नाका खुलाउन आवश्यक तयारी गर्न सरकारसँग माग गरेका हुन । उनले अरनिको राजमार्गमा रहेको सडक मर्मत सम्भार गरी तत्काल तातोपानी नाका खुलाउन आवश्यक तयारी गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद आशाकुमारी विश्वकर्माले बझाङ जिल्लामा दरबन्दी अनुसार चिकित्सकको तत्काल व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले दरबन्दी अनुसार चिकित्सकहरु नहुँदा बझाङमा विरामीले सास्ती व्यहोर्नु परेको पनि स्मरण गराए ।

सांसद इन्दुकुमारी शर्माले चुरे वनविनाश रोक्न सरकारलाई पुनः दबाब दिए । उनले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको नाममा २४ लाख ५० हजार रुख कटानी गर्न लागिएको भन्दै त्यसलाई नरोके चुरे विनाश हुने र त्यसले प्रदेश २ का जनतामाझ ठूलो प्राकृतिक विनाश निम्त्याउने चेतावनी पनि दिए ।

सांसदहरुले बर्दियाको चेपाङहरुलाई लालपूर्जाको तत्काल व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् । सांसद कुमारी तुलसी थापाले बर्दियाको करिब २ हजार ५ सय जनसंख्या रहेको चेपाङहरु शिक्षा, स्वास्थ्य जस्ता आधारभूत अधिकारबाट बञ्चित हुनु परेको भन्दै उनीहरुलाई तत्काल लालपूर्जाको व्यवस्था गर्न सरकारसँग माग गरे ।

बैठकमा सांसद कृष्णकुमार श्रेष्ठले काठमाडौं प्रवेश गर्ने मुख्य नाकाको रुपमा रहेको कलंकी– नाकढुंगा सडक खण्डमा हुने ट्राफिक जाम हटाउन सरकारको ध्यानाकर्षण गराए ।

ताजा अपडेट

खोजी गर्नुहोस