१७ वर्षीया युवतीको सामूहिक बलात्कारपछि हत्या गरिएको परिवारको आरोप ! प्रहरी भन्छ–अनुसन्धान जारी छ

मंसिर १२,कपिलवस्तु । देशभर यतिबेला महिला हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेको छ । सरकारले पनि यसलाई खवै महत्व दिएर विभिन्न् कार्यक्रम गरिरहेको छ । तर देशमा विभिन्न किसिमका महिला हिंसा,हत्या र बलात्कार जस्ता घटना घटिरहेको छ । यहीबीच  कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका २ अभिरावको मनखोरिया गाउँमा एक युवतीको सामूहिक बलात्कारपछि हत्या गरिएको परिवारको आरोप छ । गत कार्तिक २९ गते राति १७ वर्षीया सबनाम खातुनको सामूहिक बलात्कारपछि पासो लगाई हत्या गरिएको खातुन परिवारको आरोप छ।

स्थानीय पिन्टु भन्ने सर्वजित धोबी, २५ वर्षीय रामकुमार धोबी, राजमति पासी, शिवलाल धोबीले आफ्नी छोरीको बलात्कारपछि हत्या गरेको मृतकका बुबा अब्दुल गफ्फारले आरोप लगाएका छन् ।

एक जना महिलाले रातमा छोरीलाई बोलाएको र सेटिङ मिलाएर घटना गराइ मारेरमात्र रुखमा लगेर झुण्ड्याएको उनले बताए । घर वरिपरिको सबैलाई थाहा भए पनि प्रहरीमा आउन जान तथा दुस्मनी हुने कारणले कोही नबोलेको उनको गुनासो छ ।

गत २९ गते राति घरबाट एकाएक गायब भएपछि बिहान ४ बजेतिर छोरीको शव रुखमा पासो लगाएर झुन्डिएको परिवारले भेटाएको छ ।

‘कार्तिक २९ गते राति छोरी गायब भएको थाहा पायौ, रातभरी खोजतलास गर्दा गाउँ कै आपको रुखमा छोरीलाई झुन्डिएको अवस्थामा भेटायौँ’ उनले भने ।

पिन्टु र छोरीको प्रेम सम्बन्ध रहेको र ४ महिनाअघि दुबैलाई संगै आफूले समेत भेटेको उनले बताए । त्यतिबेला आफूले पिन्टु र छोरी दुबैलाई हप्काएको र पिन्टुलाई एक दुई झापड समेत हानेको उनले बताए । आफूले पिन्टुलाई छोरीसंग आईन्दा नभेट्न र हानेको झापडले गर्दा त्यही कुराको बदला लिन पिन्टुसहित ४ जनाले छोरीको हत्या गरेको गफ्फारको दाबी छ।

गफ्फारका अनुसार छोरीको शव रुखमा झुन्डिएको अवस्थामा भेटिएको र रुखको हांगामाथि हात थियो । चप्पल समेत लगाएको अवस्थामा, खुट्टामा हिलो लागेको र पासो समेत पूरा नबाँधिएको अवस्थामा शव रहेको थियो । ‘हातको ठीक माथि रुखको हाँगा हुनु र चप्पलसमेत खुट्टामै हुनुले पनि छोरीको हत्या गरिएको हो’ उनले भने ।

उता पिन्टुको परिवारले भने युवतीले आफैँले आत्महत्या गरेको दाबी गरेको छ । प्रेम सम्बन्धलाई परिवारले अस्वीकार गरेपछि आबेगमा आएर सबनामले आत्महत्या गरेको र आफूहरुलाई त्यसै फसाउन खोजिएको उनीहरुको भनाई छ।

जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले पोस्टमार्टमको रिपोर्टमा झुण्डिएर आत्महत्या गरेको प्रतिवेदन स्वास्थ्य कार्यालय कपिलवस्तुबाट आएको बताए । अधिकारीले भने पीडक र पीडित पक्षले भनेका कुरा पत्ता लगाउने काम अदालतको भएको भन्दै आफूहरुले घटनाको बारेमा सोधपुछ र अनुसन्धान निरन्तर गरिरहेको अनलाइनकेन्द्रलाई बताए ।

मृतक किशोरीको परिवारले भने मिलोमतोमा पोष्टमार्टम रिपोर्टमा आत्महत्या गराएको आरोप लगाएका छन् । हत्याको दिन राति कुकुर भुकेको र सो बेला उक्त किशोरीलाई लिएर गएको एक जनाले देखेको तर आफूलाई समस्या पर्ने भएकोले पछि उनले उक्त कुरा सार्वजनिक नगरेको समेत परिवारजनको भनाइ छ ।

संम्बन्धित समचार

Leave a Reply