असोज ३,धादिङ । नेकपाका नेता तथा तथा पुर्वमन्त्री राजेन्द्र पाण्डेले संविधान जनताको त्यागबाट निर्माण भएकोले जनताले नै पुर्ण कार्यान्वयनको लागी दवाव दिनुपर्ने बताएका छन । धुनिबेशी नगरपालिका–६ धार्के बजारमा वृक्षारोपण तथा सरसफाई कार्यक्रमको अवसरमा बोल्दै नेता पाण्डेले आफुले जितेको क्षेत्रको विकासको लागी सक्दो पहल गरेको बताए । उनले बजार क्षेत्रलाई हरियाली र सफा बनाउन एक दिन नभई सँधै लागी पर्नुपर्ने बताए ।
सो क्रममा नगरप्रमुख बालकृष्ण आचार्यले नगर सफा गर्न योजनाबद्ध भएर लाग्नुपर्ने बताए । उनले धार्केलाई व्यवस्थित बनाउन नगरले सक्दो प्रयास गर्ने बताउदै केही समयभित्रै बजार आसपास बत्तीको व्यवस्था गर्ने बताए ।
सँविधान दिवसको अवसरमा धार्के बजारको सडक दायाँ बाँया फुटपाथ नजिक अशोक वृक्षको बिरुवा रोपिएको हो । यस्तै धार्के बजारको पनि सरसफाई गरिएको छ ।
वृक्षारोपण तथा सरसफाई कार्यक्रममा धार्के बजारका स्थानिय, सरोकारवाला निकाय लगायत स्थानिय विद्यालय शिक्षक तथा विद्यार्थीहरुले सहयोग गरेका छन् । स्थानिय सबैले आफ्नो घर तथा आफु बसेको घर नजिक विरुवा रोपेका छन् ।
विरुवा भने नगरपालिकाले उपलब्ध गराएको हो । कार्यक्रममा देव विकास बैँकले नगरपालिकालाई सिसिटिभी हस्तान्तरण गरेको छ ।