‘वाटमोर’ नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक, जसले श्रीलंकालाई विश्वकप जिताएका थिए

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ पौष २, बिहिबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस २,काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा अस्ट्रेलियाका देव वाटमोर नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले वाटमोरलाई राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त गरेको हो। वाटमोरले आगामी जनावरी १ देखि लागू हुने गरी नेपाली टिम सम्हाल्नेछन्।

क्यानले नेपाली टिमको प्रशिक्षकका लागि गत कात्तिक अन्तिम साता एक दर्जन प्रशिक्षकको अन्तर्वार्ता लिएको थियो। जसमा वाटमोरसहित पूर्व प्रशिक्षक पुबुदु दसानायके, भारतका अपूर्व देसाइ लगायतले अन्तर्वार्ता दिएका थिए।

श्रीलंकामा जन्मिएर अस्ट्रेलियामा हुर्किएका वाटमोर अस्ट्रेलियाका पूर्व क्रिकेटर हुन्। ६६ वर्षीय वाटमोरसँग आइसिसीको स्थायी सदस्यका टिमलाई प्रशिक्षण गराएको अनुभव छ।

उनको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को एकदिवसीय विश्वकप जितेको थियो। उनी सन् २००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षक थिए। त्यसपछि उनी भारतको यु१९ टिमको प्रशिक्षक रहे।

वाटमोरले सन् २०१० र २०११ को सिजनमा आइपिएल टिम कोलकता नाइट राइडर्सको प्रशिक्षण सम्हालेका थिए। त्यसपछि वाटमोर २०१२ देखि २०१४ सम्म पाकिस्तानको प्रशिक्षक बने।

सन् २०१४ मा जिम्बावेको प्रशिक्षक बनेका उनलाई २०१६ को टी–२० विश्वकपमा जिम्बावेले खराब प्रदर्शन गरेपछि बर्खास्त गरिएको थियो।

त्यसपछि उनी भारत फर्किए। भारतमा उनले केरलाको टिमलाई प्रशिक्षण दिए। पछिल्लो पटक उनी सन् २०२० मा सिंगापुरका प्रशिक्षक बने।

क्यानले वाटमोरलाई प्रशिक्षक नियुक्त गरेसँगै रौनकबहादुर मल्ललाई महाप्रवन्धक, रमेशकुमार न्यौपानेलाई मुख्य बृत्त व्यवस्थापक र विनोद दासलाई क्रिकेट व्यवस्थापकमा नियुक्त गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस