बुद्ध एयर चढेर जनकपुर हिँडेका यात्रु पोखरा पुगेपछि…

दिपू वर्णवाल

पुस ४, काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुर जानुपर्ने यात्रु पोखरा पुगेका छन् । बुद्ध एयरको ६०७ नम्बरको नियमित उडानबाट जनकपुर जानुपर्ने यात्रु पोखरा पुगेका हुन् । कुनै मौसमको खराबी वा जहाज डाइभर्ट गर्नु परेकाले जनकपुर हिँडेका यात्रुहरु पोखरा पुगेको नभई विमानस्थलमा एयरलाइन्सका कर्मचारीको लापरबाहीले यस्तो भएको हो । बुद्ध एयरको ६०७ नम्बरको उडान पोखराका लागि नै तय गरिएको थियो । तर विमानस्थल ग्राउन्ड ह्यान्डलिङका कर्मचारीको लापरबाहीका कारण जनकपुर पुग्नुपर्ने यात्र पोखरा पुगेका थिए । जनकपुर पठाउनुपर्ने यात्रुहरुलाई उनीहरुले पोखराको जहाजमा चढाएका थिए ।

अचानक पोखरा विमानस्थल उत्रँदा यात्रुहरु छक्क परेका थिए। यद्यपि यसबारे यात्रु, पाइलट तथा परिचारिकाहरुले कुनै थाहा पाएनन् । बुद्ध एयरका एक कर्मचारीका अनुसार जनकपुर र पोखराको एकै समय परेको उडानमा यस्तो घटना भएको हो । अपराह्न चार बजे पोखरा विमानस्थलमा अवतरण भएको जहाजका सबै यात्रुहरु जनकपुरका लागि रहेको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए । उनका अनुसार जनकपुर जान भनेर हिँडेका यात्रु पोखरा विमानस्थलमा अवतरण गरेपछि मात्र यसबारे जानकारी पाएका थिए । विमानस्थल ग्राउन्ड ह्यान्डलिङकै कर्मचारीको कमजोरीका कारण यस्तो हुन पुगेको समेत उनको भनाइ छ । यद्यपि यो विषयमा थप अध्ययन हुनेसमेत बताए । उक्त जहाज नै पछि काठमाडौँ हुँदै जनकपुर पठाइएको बुद्ध एयरले जनाएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply