बीमा प्रक्रियामा सबै नागरिकलाई ल्याउन सके राहत र उद्धारमा सहज : गृहमन्त्री थापा

असोज ४, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सबै नागरिकलाई बीमा प्रक्रियाभित्र ल्याउन सकेमात्र विपद्मा परेकालाई राहत उपलब्ध गराउन र उद्दार गर्न सहज हुने बताएका छन् ।

बुधबार गृह मन्त्रालयमा बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमा उनले विपद् व्यवस्थापनका लागि आवश्यक स्रोत साधन, बजेट, तालीमको कमी भएको भन्दै समितिले त्यस्ता सामग्रीलाई बढाउन पहल गर्नुपर्ने बताए। “विपद्बाट हुने क्षति न्यूनीकरणको कार्यक्रम ल्याउनु जरुरी छ,” उनले भने ।

मन्त्री थापाले बाढीपहिरोका कारण घरबारविहीन भएका घरपरिवारलाई सम्बन्धित मन्त्रालय तथा स्थानीय तहले सहयोग गर्ने र ती निकायलाई आवश्यक रकमका लागि अर्थ मन्त्रालयबाट माग गर्ने बताए।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकभर भएका बाढीपहिरो पीडितलाई आवश्यक राहतको कार्यक्रम समितिले ल्याउनुपर्ने बताए।

गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र रक्षा मन्त्रालयका सचिव विष्णु लम्सालले विपद् उद्धारमा चाहिने आवश्यक साधन खरीदका लागि अर्थ मन्त्रालयको सहयोग आवश्यक रहेको बताए।

बैठकमा विपद्का घटना, विपद्बाट प्रभावित राहत तथा पुनः स्थापना, कोषको अवस्था र खर्चको विपरण, खर्च समर्थन गर्ने र भुक्तानी दिने सम्बन्धमा छलफल भएको थियो ।

बैठकमा विभिन्न मन्त्रालयका मन्त्री तथा सचिव, तीन सुरक्षा निकायका प्रमुख एवं नेपाली सेनाका प्रतिनिधिको सहभागीता रहेको थियो । मुलुकमा पाँच महीनाको अवधिमा विपद्बाट २४६ जनाको मृत्यु भएको छ । जसमध्ये १३९ पुरुष र १०७ महिला रहेका छन् । यस्तै दुई हजार ४३० जना घाइते भएका छन् भने पाँच व्यक्ति बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Comment