पछिल्लो समय बालिका माथि बढ्दो बलात्कार र बलात्कार पछि हत्या गर्ने जस्तो घृणित काम दिन प्रति दिन बढिरहेको छ । कञ्चनपुरमा १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणले अहिले देशभर आन्दोलन चर्किरहेको छ । हत्यारा प्रहरीले लुकाएको भन्दै जनता आक्रोशित छन् । यो समयमा बलात्कारका घटना धेरै सार्वजनिक भैरहेका छन् । खासमा यस्ता जघघघन्य अपराध बढ्नुको पछाडी के कारण छ, यसबारे अनलाइनकेन्द्रले महिला अधिकारकर्मी मिरा ढुङ्गानासँग कुराकानी गरेका छौं । प्रस्तुत छ महिला अधिकारकर्मी ढुङ्गानासँग गरिएको कुराकानीको सम्पादित अंश ।
महिलालाई हेर्ने दृष्टिकोणमा अझै विकास हुन सकेको छैन । महिला÷बालबालिकालाई एउटा बस्तुको रुपमा हेर्ने गरिन्छ । राज्य नै पितृसतात्मक सोच, मुल्यमान्यतामा रुमल्लिरहेको छ । जसकारण महिला हिंसा, बलात्कार, हत्या जस्ता जघन्य अपराधहरु बढिरहेको छ ।
अलिकति म्याचुअर भैसकेको मान्छे बालबालिकाहरु भन्दा बुझ्ने हुन्छन, तसर्थ आफु कसरी सुरक्षित भईन्छ भन्ने कुरा पनि थाहा हुन्छ । बालिकाहरुलाई त्यस्तो थाहा हुदैन, जसले गर्दा हिंसामा पर्ने गर्दछन् ।
प्रहरीलाई जानकारी छैन जस्तो मलाई लाग्दैन । प्रहरीले अनुसन्धान गर्दा जस्तोसुकै केसहरु पनि पत्ता लागेका छन् । तसर्थ प्रहरीलाई जानकारी हुँदा हुँदै पनि उक्त केस बाहिर नल्याईएको हो भन्ने सहजै अनुमान लगाउन सकिन्छ । प्रहरी घटनाबारे जानकार भएपनि हत्यारा पक्राउ गरेको छैन । सरकारले घटना छानबिन गर्न जुन समितीहरु बनायो, समितीका व्यक्तिहरुले राजिनामा गर्नु भनेको त आश्र्चजनक हो । तसर्थ घटनाबारे अनुसन्धान गरेर, दोषि पत्ता लगाएर पनि बाहिर नल्याएको हो भन्ने लाग्छ । प्रहरीले नै हत्यारालाई संरक्षण दिइरहेको छ ।
सरकारले सत्यतथ्य कुरा बाहिर ल्याउन नसक्नु र प्रहरीले अनुसन्धान पछि पनि तथ्य बाहिर ल्याउन नचाहानु नै सबैभन्दा ठुलो कमजोरी हो । जनताहरु अब एकजुट हुन थाले । महिलाहरु पनि निर्धक्क भएर आवाज वुलन्द गर्न थाले । गुम्सनु हुन्न है भन्ने धारणाको विकास हुन थाल्यो । त्यसैकारण जनताले स्वःस्फुर्त रुपमा आन्दोलन जिल्लादेखि राजधानीसम्म लेराए । सरकारलाई दवाव दिए ।
मानसिक सन्तुलन गुमेका दिलिपसिंह बिष्टले केहि गर्न सक्दैन, यसलाई फसाउन सकिन्छ्, जसले गर्दा मुख्य अपराधी लुकाउन सकियोस् भन्ने विचारले बिष्टलाई जानीजानी ल्याईएको हो भन्ने कुरा सबैले बुझे । यो कुरा कसैले मानेन । प्रहरीको यस्तो चलखेल सबैले बुझेपछि आन्दोलन चर्कियो । त्यसपछि बिष्टलाई छोड्न प्रहरी बाध्य भयो ।
सर्वप्रथम त अनुसन्धानमा लापरबाही हुनुभएन, जसले गर्दा दोषी उम्कन सकोस् । सम्बन्धित निकायहरु संवेदनशिल भएर अनुसन्धानमा लाग्नुपर्छ । दोषीलाई उचित कारबाहि हुनुपर्छ । र यस्ता संवेदनशिल घटनालाई ढाकछोप गर्न खोज्नेलाई पनि कानुनको दायरामा ल्याउनुपर्दछ ।
अन्तर्वाता अडियोमा सुन्नुहोस्