प्रधानमन्त्री ओली शनिबार अमेरिका जाने, यस्तो छ भ्रमण तालिका

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन ५, शुक्रबार (६ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

असोज ५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते शनिबार न्यूयोर्कतर्फ प्रस्थान गर्ने भएका छन् । उनका साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि रहनेछिन् ।

असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको परराष्ट्र मन्त्रालयले बिहिबार एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्नेछन्। उनले त्यही दिन विश्व संस्थाका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन्।

प्रधानमन्त्री ओलीले असोज ८ गते सोमबार ‘नेल्सन मन्डेला शान्ति शिखर बैठक’ को रूपमा उच्चस्तरीय पूर्ण बैठकलाई सम्बोधन गर्नेछन्। त्यो बैठक दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको सम्मानमा उनको १००औं जन्मदिवसका अवसरमा आयोजना हुनेछ ।

प्रधानमन्त्री ओली तथा श्रीमती शाक्य त्यही साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती ट्रम्पले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनेछन्। उनी असोज ९ गते मङ्गलबार संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन्।

प्रधामन्त्री ओलीले सोही दिन महासचिव गुटेरेसले आयोजना गर्नुहुने ‘शान्तिका लागि कार्य गर्न उच्चस्तरीय बैठक’ लाई सम्बोधन गर्नेछन्। उनले सोही दिन एसिया सोसाइटीमा ‘‘शान्ति, प्रजातन्त्र तथा विकास’’का विषयमा सार्वजनिक व्याख्यान दिनेछन्। अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुडले उक्त कार्यक्रमलाई निर्देशन गर्नेछन्।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको महासभाका कार्यक्रमका साथसाथै असोज १० गते बुधबार स्विजरल्यान्डका राष्ट्रपति एलेन बर्सेटसँग दुईपक्षीय भेटवार्ता गर्नेछन्। उनले असोज १२ गते शुक्रबार क्याम्बोडियाका प्रधानमन्त्री सामदेक अर्थात् मोहा सेना पदेई तेको हुन सेनसँग दुई पक्षीय भेटवार्ता गर्नेछन्।

प्रधानमन्त्री ओली असोज १३ गते शनिबार दुईपक्षीय औपचारिक भ्रमणका क्रममा न्यूयोर्कबाट कोस्टारिकाको सान होजेतर्फ प्रस्थान गर्नेछन्। प्रधामन्त्री ओलीले सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गर्नेछन्। उनले सान होजेमै शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस) लाई सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री असोज १७ गते बुधबार काठमाडौँका लागि प्रस्थान गर्नेछन्। प्रतिनिधि मण्डल उनको साथ रहनेछ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अन्य बैठकका साथै छुट्टै रुपमा असंलग्न अभियानका मुलुकको समूह, ७७ मुलुकका समूह, अल्प विकसित मुलुकका समूह तथा भूपरिवेष्टित विकासशील मुलुकका समूह तथा मध्यस्थताका मित्रका समूहका मन्त्रीस्तरीय बैठकहरुमा भाग लिनेछन्।

परराष्ट्रमन्त्री ज्ञवालीले असोज ११ गते बिहीबार दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० को मन्त्रीस्तरीय अनौपचारिक बैठक आयोजना गर्नेछन्। प्रधानमन्त्री ओलीका भ्रमणदलमा उनका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहनेछन्।

ताजा अपडेट

खोजी गर्नुहोस