पुस २३, काठमाण्डौ । नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोरखाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले शुरु गरेको ‘एकीकरण पदयात्रा’ आज धादिङ आएको छ । गोरखाबाट हिँडेको रणसिंह दल गणले गोरखा दरबारबाट ल्याइएको दीप र झण्डा बोर्लाङ्घाटमा आएर धादिङस्थित नेपाली सेनाको देवीदत्त गणलाई हस्तान्तरण गरेको थियो । बोर्लाङबाट आज हिँडेको सेनाको टोली बुङ्कोटघाटबाट कछारगाउँ, सल्यानटारको कोषढुङ्गा, रानीपौवा, कालोढुङ्गा, खहरे, चरङ्गे पौवा, चरङ्गेमा आएर बसेको छ । पदयात्रा देवीदत्त गणका प्रमुख सेनानी दिनेश कार्कीले नेतृत्व गरेका थिए ।