दशैं–तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनको तयारी, १२ सहकारीले पसल सञ्चालन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन ६, शनिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ६, काठमाडौं । नेपाल खाद्य संस्थानले सहकारीमार्फत दशैँ, तिहार र छठका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

संस्थानले रामशाहपथ, थापाथली र नख्खुबाहेक अन्य ठाउँमा सहकारीमार्फत सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको संस्थानका विभागीय प्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए ।

उनका अनुसार झण्डै १२ सहकारी संस्थालाई संस्थानबाट खाद्यान्न उपलब्ध गराई पसल सञ्चालनको जिम्मा दिइनेछ ।

‘कर्मचारी अभाव र सर्वसाधारणलाई पहुँच पुर्‍याउन यसपटकदेखि हामीले सहकारीमार्फत चाडपर्वमा खाद्यान्न वितरण गर्न थालेका हौँ’, उनले भने ।

यसअघि संस्थानले उपत्यकाका आठ ठाउँमा पसल सञ्चालन गरेको थियो । संस्थानले यस वर्ष चाडपर्वलाई लक्षित गरी दुई हजार खसी र च्याङ्ग्रा ल्याउने भएको छ । पाँच सय खसी दाङ, पाँच सय खसी हेटौँडा तथा एक हजार च्याङ्ग्रा मनाङबाट ल्याइने भएको संस्थानका सूचना अधिकारी शङ्कर सापकोटाले जानकारी दिए ।

उनका अनुसार खसी र च्याङ्ग्रा सङ्कलन गर्न त्यहाँस्थित कार्यालयलाई निर्देशन दिइसकेको छ । संस्थानका ती ठाउँमा रहेका कार्यालयले घट्स्थापनापछि खसी र च्याङ्ग्रा काठमाडौँ पठाइनेछ ।

खसी र च्याङ्ग्रा थापाथलीस्थित अञ्चल कार्यालयबाट वितरण गरिनेछ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिले खसी र च्याङ्ग्राको मूल्य निर्धारण गर्नेछ ।

संस्थानले यसपटक आठ किसिमका चामल बिक्री वितरण गर्नेछ । बासमति, जापानिज, जिरा मन्सुलीसहित कर्णालीको फापर, सिमीसमेत बिक्री वितरणमा राखिने भएको छ । संस्थानले यही असोज १२ देखि छठ पर्वसम्म पसल सञ्चालन गर्ने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस