दसैँका लागि अग्रिम टिकट बुकिङ सुरु, पहिलो दिन नै १८९५ टिकट बुकिङ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन ६, शनिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ६, काठमाडौं । दसैँको लागि अग्रिम टिकट बुकिङ भैरहेको सरकारले दावी गरेको छ । केही यातायात व्यवसायीले टिकट बुकिङ नखोले पनि दसैँका लागि अग्रिम टिकट बुकिङ सुरु भैसकेको सरकारले जनाएको छ ।

टिकट बुकिङ खोलेको पहिलो दिन हिजो काठमाडौंको नयाँ बसपार्कबाट १८ सय ९५ वटा टिकट बुकिङ भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायका अनुसार अहिले समितिसम्बद्ध थोरै र प्रालि सम्बन्ध सबै व्यवसायीले दसैँको लागि अग्रिम टिकट बुकिङ गरिरहेका छन् ।

सरकारले चैतमा सिन्डिकेट अन्त्यको घोषणा गरेपछि धेरै व्यवसायी प्रालिमा दर्ता भैसकेका छन् । प्रालि सम्बद्ध ११ सय ९ व्यवसायीका ४ हजारको हाराहारीमा गाडी रहेका विभागले जनाएको छ । अहिले पनि २ सय ४५ समिति छन् । समिति मार्फतका केही व्यवसायीले पनि हिजोदेखि दसैँको लागि अग्रिम टिकट बुकिङ खुलाएका छन् । गोगंबु बसपार्कमा प्रालि र समितिका २४ वटा काउण्टर छन् । जसअन्तर्गत प्रालि सम्बद्ध व्यवसायीले टिकट बुकिङ सहज गरेका विभागले जनाएको छ ।

प्रवक्ता उपाध्यायका अनुसार समिति सम्बद्ध व्यवसायीले पनि छिट्टै टिकट बुकिङ खोल्नेछन् । यसअघि गएको भदौ ३१ गते विभाग र व्यवसायीबीच शुक्रबारदेखि दसैँको लागि अग्रिम टिकट बुकिङ गर्ने सहमति भएको थियो ।

तर समिति सम्बद्ध व्यवसायीले सोमबार रातिदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाउ नघटाएसम्म टिकट बुकिङ नखोल्ने निर्णय गरेको छ । उनीहरुलाई सहमतिमा ल्याउन विभागले छलफल गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस