मध्यपूर्वी तराईमा अचाक्ली बढेको चिसोले जनजीवन कष्टकर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ ४, आईतबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ ४, महोत्तरी । महोत्तरीसहितका मध्यपूर्वी तराईमा अचाक्ली बढेको चिसोले जनजीवन झन्झन् कष्टकर हुँदै गएको छ । पछिल्लो एक सातायता घाम नदेखिएर लगलगी मुटु कमाउने जाडो बढ्दै गएपछि जनजीवन कष्टकर बन्दै गएको हो ।

गत पुस २७ गतेयता महोत्तरीमा घाम देखिएको छैन । जताततै हुस्सुले डम्म ढाकेको छ । बेगले बहने चिसो स्याँठ र लगातारजसो परिरहेको तुषारोले जाडो बढाएपछि कतै काममा निस्कन नसकेर कैदीजस्तै बनिएको यहाँका बासिन्दा बताउँछन् । “बारीका तरकारीका बोट पहेँलिदै गए, टमाटर त बोटमै कुहिएर आफैँ भुइँमा झर्दैछन्”, महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरका तरकारी किसान महेन्द्रसिंह कुशवाहा भन्नुहुन्छ, “अन्य कोसे तरकारी सिमी, केराउ, मटरका बोट, लहरा, पूmल र कोसा पनि कक्रक्क परेका छन् ।” बाली देख्दा मन विरक्तिने स्थिति रहेको कुशवाहा बताउनुहुन्छ । कुशवाहाजस्तै यसै बस्तीका रामविनोद महतो, जवाहर महतो र भोला महतो पनि लगातार एक साताको शीतलहरले तरकारी बालीबाट हात धुने अवस्था बनेको चिन्ता जनाउछन् ।

लगातार चिसो बढ्दै जाँदा दूध दिने गाई, भैँसी सुक्दै गएका छन् । अन्य पशु वस्तु पनि समुचित स्याहार नपाउँदा जिङ्राएका पशुपालक किसानको चिन्ता छ । “न हरियोपरियो घाँस खोज्न जान सकिएको छ, न वस्तु चरनमा लान सकिन्छ”, जिल्लाकै भङ्गाहा नगरपालिका–४ रामनगरका बासिन्दा किसान हीरादेवी दाहाल भन्छन् “यी वस्तुको बिजोग हेर्दा मन थाम्न सकिन्न ।” आफ्ना गोठका सात भैँसी, एक गाई र स–साना पाडापाडी बाच्छाबाच्छीले सात दिनदेखि पराल र पुरानो गहुँको भुसबाहेक खानेकुरा अरु देख्न नपाएको दाहाल बिरक्तिँदै बताउछन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस