माघ ७,हेटौडा । बागमती प्रदेशको हिउँदे अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।
प्रदेशसभाको एउटा अधिवेशन र अर्को अधिवेशनबीचको अन्तर ६ महिना भन्दा बढी हुन नहुने संवैधानिक बाध्यताका कारण बोलाइएको बैठक सुरु भएकै दिन सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिदिए ।
हिउँदे अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले सम्बोधन गरे । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारको चर्को विरोध गरिन् भने मुख्यमन्त्री डोरमणि पौडेल केही नरम देखिए ।
पौडेलले संसद विघटनको कुरा सर्वोच्च अदालतले सही र गलत भन्ने बताउँदै सरकार विकास र समृद्धिको अभियानमा हिँड्दा अहिले केही बाधा आइपरेको बताए । ‘सरकार ढलाउने खेल सुरुदेखि नै भएपनि संविधानका कारण रोकिएको हो, पहिले बामगती प्रदेश सरकारमा एकै स्वरमा बोल्नेहरु पनि अहिले फरक ढंगले प्रस्तुत भएका छन्’ उनले भने ।