सुनिल अधिकारीका ५ मुक्तकहरु

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७५ आश्विन ९, मंगलबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मुक्तक १.
सत्य तिमीले बताउन नै चाहिनौ, न मैले झूट सुन्न सकें
न असमञ्जस व्यवहारबाट अभिनय र सच्चाई चुन्न सकें
मायामा विश्वास जुन छ, ‘गर’ भनेर हुन्न त्यो आफैं हुन्छ
न तिम्रो कुरा मैले सुन्न सकें, न आफ्नो कान नै थुन्न सकें !

मुक्तक २.
रङ्ग-रूप यो जीवनको, त्यो हँसिलो मुहार मेरो दर्पण हो
उपहार स्वरूप भो सावनको, बर्खा बहार तिमीमै अर्पण यो
म याद बनेर पलपल आउँला, हाम्रो प्रणयको गीत गाउँला
छाँया-धूप मेरो आँगनको, यो संसार तिमीमै समर्पण भो !

मुक्तक ३.
तिम्रो बूतामा छ भने हिमाल खारेर देखाऊ
छाती चिरा पार त्यो समुन्द्रको, फारेर देखाऊ
धरतीमा लकीर खिंच्दै सिकन्दर बन्नेहरु हो
सक्छौ भने आकाशमा सीमाना बारेर देखाऊ !

मुक्तक ४.
आफैं थपघट गर्दै कागतमा जस्तै केर्न मिल्दैन जीवन
गलत कोणमा बसेर सहि कोणबाट हेर्न मिल्दैन जीवन
अँध्यारोमा सहमतिमा भएको पापको दाग लुकाउन
बिहान सवेरै उठेर तन्ना जस्तै फेर्न मिल्दैन जीवन !

मुक्तक ५.
के दियो के लियो जिन्दगीले, त्यसमा कबै चासो राखिएन
हिसाबमा कमजोर छु र पनि बाँकी कसैको नासो राखिएन
एउटै कुरा सिकें मैले खुशी जति बाँड्यो उति बढ्छ भन्ने
सुखमा साथ दिन नसकेपनि कसैको दुस्खमा हाँसो राखिएन !

-सुनिल अधिकारी

ताजा अपडेट

खोजी गर्नुहोस