‘बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम अगाडी बढ्छ’ : ऊर्जामन्त्री रायमाझी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २१, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २१, काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्यलाई अघि बढाइने बताए । मन्त्रालयमा आयोजित बूढीगण्डकी राष्ट्रिय सरोकार समितिका प्रतिनिधिसँगको छलफलमा उनले आफूले अघिल्लो पटक ऊर्जामन्त्री हुँदा आयोजनाको कामलाई अघि सारेको हुँदा अब छिट्टै नै शिलान्यास गरी निर्माण कार्य अघि बढाइने बताए । मन्त्री रायमाझीले तत्कालीन समयमा आफू पटक–पटक निर्माणस्थलमै गएर विभिन्न समस्या तथा चुनौती हटाउने कार्यमा जुटेको भए पनि छोटो समयमै सरकार ढलेका कारण निर्माण कार्य अघि बढ्न नसकेको बताए ।

उनले विभिन्न जलविद्युत् आयोजनाको निर्माण कार्य चलिरहेको भन्दै मुलुक अब विद्युत् बिक्री गर्ने अवस्थामा पुगेको बताए । मन्त्री रायमाझीले आफू अघिल्लो पटक ऊर्जामन्त्री हुँदा ऊर्जा सङ्कट निवारणका लागि ९९ बुँदे कार्ययोजना बनाई लागू गरेकै कारण विद्युत् भार कटौती अन्त्य सम्भव भएको स्पष्ट पारे ।

बूढीगण्डकी राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले घरजग्गाको ह्रासकट्टी र लाभ कर लिँदा स्थानीयवासीले उल्टै रकम बुझाउन पर्ने परिस्थितिको सिर्जना भएकाले ह्रासकट्टी र लाभकर बिना जग्गाको मुआब्जा दिनुपर्ने बताए । उनले जलविद्युत् आयोजनाको निर्माण कार्य अघि नबढ्दा जनता प्रताडित बनिरहेको भन्दै जग्गाको मूल्याङ्कन पनि निकै कम भएको बताए ।

एक हजार २०० मेगावाटको आयोजना निर्माणका लागि करिब रु ४० अर्ब सङ्कलन भइसकेको छ । आयोजना निर्माणका लागि अधिग्रहण गरेको घरजग्गाबापत सरकारले रु ३४ अर्ब प्रभावित क्षेत्रका नागरिकलाई वितरण गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस