असोज १२,काठमाडौँ । काठमाडौँ चाडपर्वको मौका छोपेर यात्रु टिकटमा बद्मासी गरेको भेटिए प्रहरीले कारवाही गर्ने भएको छ ।
यात्रुको अत्यधिक चाप हुने हुनाले दशैँ–तिहार जस्ता चाडपर्वमा विगत वर्षहरुमा पनि एउटै टिकट दुईजनालाई बिक्री गरेको पाईएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले त्यस्ता ब्यक्तिहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
शुक्रवार पत्रकार सम्मेलन गरेर महानगरीय ट्राफिक महाशाखाका प्रमुख (सएसपी) बसन्त कुमार पन्तले त्यसरी बद्मासी गरेको फेला पारेमा ठगी मुद्दा चलाइने जानकारी दिए । उनले भने, ‘टिकट बिक्रीमा बद्मासी गरेको फेला परेमा ठगी मुद्दा दर्ता गरेर कारवाही गर्छौ ।’
ट्राफिक महाशाखाले काठमाडौं उपत्यकाको १३ स्थानमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरेर दशैँ सुरक्षा योजना सहित ट्राफिक व्यवस्थापन शुरु गरेको छ ।
ट्राफिक प्रहरीले उपत्यकाको जगाते, कोटेश्वर, सातदोबाटो, बल्खु, कलंकी, दक्षिणकाली, नागढुंगा, स्वयम्भु, नयाँ बसपार्क, पुरानो वसपार्क, सुन्धारा र गौशालामा त्यस्ता सहायतका कक्षहरु स्थापना गरेको छ ।
‘टिकट विक्रीमा हुनसक्ने बद्मासी नियन्त्रण गर्नका लागी उल्लेख्य संख्यामा सादा पोशाकका प्रहरी परिचालन गर्नेगरी योजना बनाएका छौं,’ एसएसपी पन्तले भने, ‘उपत्यका भित्रिने र बाहिरिने नाकाहरुमा मापसेसहितको चेकजाँच अनिवार्य गरेका छौँ ।’
टिकट काउण्टरमा काम गर्ने कर्मचारी र यातायातसँग सरोकार राख्ने ब्यक्तिहरुले सहज पहिचानका लागी यातायात व्यवस्था विभागले जारी गरेको परिचयपत्र अनिवार्य लगाउनुपर्ने भएको छ ।
लामो दुरीमा चल्ने ठूला गाडीहरुले दशैं–तिहार अवधिभर दुईजना चालक राख्न ट्राफिक प्रहरीले अनिवार्य गरेको छ ।
त्यस्तै चाडपर्वको मौका छोपेर गाडीको क्षमताभन्दा बढी यात्रु बोक्नबाट पनि बन्देज लगाइने महाशाखाले जनाएको छ ।
‘क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई कडाईपूर्वक कारवाही गर्छौँ, ओभरलोड दुर्घटनाको एउटा मुख्य कारण हो’ एसएसपी पन्तले भने, ‘त्यसका लागी यात्रुहरु पनी सचेत हुनुपर्छ ।’
दशैंमा सपिङ कम्प्लेक्स, मल लगायतका स्थानमा हुने भिडभाड र पार्किङको समस्यालाई समाधान गर्नका लागी खाली स्थानको पहिचान गरेर पार्किङको ब्यवस्था मिलाईने बताईएको छ ।
गत बर्ष काठमाडौं उपत्यकाबाट २५ लाख यात्रुहरु बाहिरिएका थिए । यस वर्ष पनि सोही अनुपातमा बाहिरीने आकलन गरेको प्रहरीले अत्यधिक चापको समयमा हुने ट्राफिक व्यवस्थापनलाई चुस्त बनाइने जनाएको छ ।