बीरगन्जमा शहीदहरुको शालिक अनावरण

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७७ फागुन ८, शनिबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

दिपू वर्णवाल

फागुण ८, बीरगन्ज । बीरगन्जको घण्टाघरमा निर्माण भएको शदीद स्मारकको अनावरण गरिएको छ । मधेश आन्दोलनमा शहीद भएकाहरुको स्मरणमा निर्मित शहीदहरुको शालिकको अनावरण गरिएको हो । शनिबार एक कार्यक्रमकाबीच जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम् निवर्तमान सांसद प्रदिप यादव र बीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले सयुक्त रुपमा शालिकको अनावरण गरेका छन् ।

निवर्तमान संघिय सांसद प्रदिप यादवको संसदीय विकास कोषको २८ लाख एवम् बीरगन्ज महानगरपालिकाबाट प्राप्त भएको २० लाख गरी कुल ४८ लाखको लागतमा निर्माण सम्पन्न भएको स्मारकमा मधेश जनविद्रोहका बेला सहादत प्राप्त गरेका ७ जना मधेशी शहीदहरुको शालिक राखिएको छ ।

जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश राय यादवको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी, सिंहासन कलवार, करिमा वेगम, भिमा यादव, जिल्ला समन्वय समिति पर्साका अध्यक्ष नेकमहम्मद अंसारी, जसपाका केन्द्रिय सदस्य शिव पटेल लगायतकाको उपस्थिती रहेको थियो । शालिक अनावरण पछि आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै नेताहरुले अहिले पनि शहीदहरुको सपना पुरा नभएको तथा मधेशीहरुको अधिकार प्राप्त नभएको विषयमा चर्चा गरेका थिए । शहीदहरुको सम्झनामा शालिक निर्माण गरिएको बताउँदै नेताहरुले बाँकी रहेका शहीदहरुको पनि शालिक बनाउँदै जाने विषयमा जोड दिएका थिए । कार्यक्रममा शहीद परिवारलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रम सुरु हुनु पुर्व मधेश अन्दोलनका प्रथम शहीद परिवारसहित आएका केहि नेताहरुले कार्यक्रमस्थलमा केही बेर विरोध गरेका थिए । छुट भएका शहीदहरुको पनि शालिक निर्माण गर्नु पर्ने भन्दै उनीहरुले विरोध जनाएका हुन् । मधेश आन्दोलनमा शहीद भएका बिरवल मुखिया बिन, दिपेन्द्र साह र महाविर गिरीका आफ्न्तहरुले कार्यक्रममा विरोध गरेका थिए । यद्यपी उनीहरुलाई नेताहरुले सम्झाई बुझाई फर्काएका थिए । त्यस पछि अनावरण कार्यक्रम शुरु गरिएको थियो ।

घण्टाघरको मुख्य चौकमा रहेको बाबा रामजनम तिवारीको शालिकको पश्चिम पट्टी ७ जना मधेश अन्दोलनका शहीदहरुको शलिक निर्माण गरिएको छ । पर्सा निर्वाचन क्षेत्र नं। १ बाट निर्वाचित भएका सांसद प्रदिप यादवले शहीदहरुको बलिदानीबाट हालको उपलब्धी प्राप्त भएको बताउँदै शहीदहरुको सम्मानमा शालिक निर्माण गरिएको बताएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस