काठमाण्डौ तराई दु्रत मार्ग : सुरुङ र पुलको बोलपत्र आह्वान

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७७ फागुन ९, आईतबार (३ साल अघि)
  • १० पटक पढिएको
Post Thumbnail

फागुण ९, काठमाडौ । काठमाडौँ–तराई द्रुत मार्गको सुरुङ मार्ग र हाइब्रिज मोटरेबल पुल निर्माणका लागि प्रक्रिया सुरु भएको छ । द्रुत मार्गको ‘माइलस्टोन’का रूपमा लिइएको सुरुङ मार्ग तथा हाइब्रिज मोटरेबल पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएको द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएका नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

द्रुत मार्ग आयोजनाको प्रमुख संरचनाका रूपमा रहेका सुरुङ मार्गहरूको निर्माण अबको तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको प्रवक्ता पौडेलले स्पष्ट पारे । उनका अनुसार द्रुत मार्गमा पर्ने कुल ६.०७ किलोमिटरको तीन खण्डका सुरुङ मार्ग तथा हाइब्रिज निर्माणका लागि दुई प्याकेजमा ठेक्का आह्वान गरिएको छ । पहिलो प्याकेजअन्तर्गत यस आयोजनाको सबभन्दा लामो सुरुङ मार्ग निर्माण गरिने महादेवडाँडा खण्ड हो ।

यस खण्डमा निर्माण गरिने सुरुङ मार्ग र हाइब्रिजको कुल लम्बाइ ३.३०० किलोमिटर रहेको छ । त्यसैगरी दोस्रो प्याकेजअन्तर्गत धेद्रेको सिम्पानीदेखि चालिसे खोल्सीसम्म १.३७० किलोमिटर र लेनडाँडाको घट्टेपाखादेखि बाँदरेखोल्सीसम्मको सुरुङमार्ग तथा हाइब्रिज निर्माणका लागि ठेक्का आह्वान गरिएको छ । यस प्याकेजअन्तर्गत कुल १.४०० किलोमिटर सुरुङमार्ग र हाइब्रिज निर्माण गरिने छ ।

यसअघि सुरुङमार्ग निर्माणका लागि आह्वान गरिएको ‘प्रिक्वालिफिकेसन’का क्रममा ४३ वटा अन्तर्राष्ट्रिय कम्पनीले इच्छा देखाएका थिए, जसमध्ये तीनवटा चिनियाँ कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत थिए । प्रिक्वालिफिकेसनका क्रममा सङ्क्षिप्त सूचीमा सूचीकृत भएका कम्पनीहरूले मात्र ठेक्काका प्रस्ताव पेस गर्न सक्ने सैनिक प्रवक्ता पौडेलले स्पष्ट पारे ।
नेपाली सेनाले २०७६ फागुनमा द्रुतमार्गको सुरुङमार्ग र हाइब्रिज निर्माण गर्ने कम्पनी छनोटका लागि प्रिक्वालिफिकेसन आह्वान गरेको थियो । सैनिक प्रवक्ता पौडेलका अनुसार निर्माणका लागि उत्कृष्ट ठहरिएका कम्पनीले इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन ईपीसी मोडलमा सुरुङमार्ग र हाइब्रिज निर्माण गर्नुपर्ने हुन्छ । यस मोडेलअनुसार निर्माण छनोट भएका कम्पनीले सुरुङमार्ग निर्माणको डिजाइन र कमिसनिङ स्वयं आफै गर्नुपर्ने हुन्छ । गोरखापत्रमा भाउच प्रसाद यादवले खबर लेखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस