हरेक मुक्तकले खास निचोड पस्किनुपर्छ (लेख)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन १३, शनिबार (६ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

✍ गोम बिक्रम

मुक्तक

अर्थमा पूर्ण छ थोरै छ पङ्क्ति
सिंगो दर्शन नै अटाउन सक्नेछ शक्ति
शब्द शिकारीले साँधेपछि निसाना
खुत्रुक्कै पार्छन् यो मुक्तकमा अभिव्यक्ति ।

– रामकाजी कोने

मुक्तक काव्य विधाको सबैभन्दा लघुत्तम उपविधा हो । बिन्दुमा सिन्धु अटाउने अर्थात् थोरै शब्दमा विशाल भाव बहन गर्ने क्षमता मुक्तकले राखेको हुन्छ । पहिले दुई हरफदेखि ११/१२ हरफसम्मका छोटा कवितालाई मुक्तक भनेर चिनाइएको भए पनि अहिले ४ हरफको मुक्तकलाई प्राय:जसो विद्वानहरु मुक्तक मानिनुपर्ने कुरामा सहमत भएका देखिन्छन् । यसरी खासमा ४ हरफीय, पूर्ण भावयुक्त, स्वायत्त कवितापुञ्जलाई मुक्तक मान्न थालिएको छ । ती ४ हरफहरुमध्ये पहिलो हरफले बिषयको उठान, दोश्र‍ोले त्यसैलाई समर्थन र विस्तार तेश्रोले प्रहार गर्न उपयुक्त वातावरण सिर्जना गर्ने र चौथोले मर्म पुग्ने गरी प्रहार गरेर खास खालको निचोड पस्कने काम गरेको हुन्छ । जस्तो कि :

मुक्तक

कुरौटे दुनियाँलाईआफू अनुकुल गाँज्न सक्छौ र?
संसारमा नभएको काम गर्न, आँट्न सक्छौ र?
मर्दकी साथमा सातवटी,बाहिर त कति कति?
यसैगरी आफ्नी श्रीमती पनि बाँड्न सक्छौ र?

– मनिषा राई कार्की

मुक्तक संस्कृत साहित्यको पौराणिक ग्रन्थहरु वेद, पुराण हुँदै नेपाली साहित्यमा करिब २४० बर्ष अघिको शक्तिबल्लभ अर्ज्यालको ‘तनहुँ भकुण्डो’ बाट पृष्ठभूमी तयार हुँदै भानुभक्त अाचार्य, मोतीराम भट्ट हुँदै-हुँदै बिस्तारै वि. सं. २०१० तिर भीमदर्शन रोक्काबाट अाधुनिक कालको उठान भएको पाइन्छ । ‘मुक्तक’ शब्द खासमा संस्कृतबाट अाएको भए तापनि मुक्तक लेख्ने अहिलेको शैली चाही उर्दू, फारसीका प्रसिद्ध कवि उमर खैय्यामका “रुवाइयात्”बाट हामीकहाँ लोकप्रिय हुन अाएको मानिन्छ । उनले पहिलो, दोश्रो र चौथो हरफमा अनुप्रास मिलाएर तेश्रो हरफलाई स्वतन्त्र छाड्थे । उनको यो शैलीका मुक्तकलाई फिट् जेराल्डले अँग्रेजीमा अनुवाद गरेपछि विश्वप्रसिद्ध हुन पुगे अहिले हामी कहाँ लेखिने मुक्तक यिनै शैलीको अनुकरण हो ।

मुक्तक

महलमा बस्नेको कहिले झुपडीसँग नाता हुन्न
इमानदार नेपालीको स्विस, बैंककमा खाता हुन्न
पद पैसाको लागि मरिहत्ते गर्ने भ्रष्ट दलालहरु
लम्पसार पर्नेहरुसँग राष्ट्रियताको छाता हुन्न !!

– बैद्यनाथ ठाकूर

अहिले यही मुक्तकमा पनि विभिन्न खाले प्रयोग, अनुसन्धान, कार्यपत्र लेखन र सैद्धान्तिक बहसहरु हुन थालेका छन् । यसरी मुक्तक छोटो, सरल, चोटिलो, पोटिलो र रसिल‍ो हुँदा-हुँदै पनि दार्शनिक तत्वयुक्त, सन्देशमूलक, सिर्जना पनि हो । यसले पाठकको मनमा नयाँ भावको संचार गराई खास खालको सन्देश प्रवाह गरेरै छाड्दछ ।
मुक्तक विचारप्रधान, भावप्रधान, स्वायत्त र पूर्णता गुणयुक्त पनि हुन्छ । यसको शैली सधै सुत्रात्मक, धारिलो र वाक्यस्तरको भाव बहन गर्ने खालको हुन्छ । लामो वर्णन गरेर नसकिने कुरालाई मुक्तकको ४ हरफले सजिलै भनी दिएको हुन्छ । जीवन र जगतका यावत कुराहरुलाई उठाएर निकै खँदिलो भावलाई प्रस्तुत गर्न सकेको हुन्छ । लयात्मक, पद्यात्मक तथा बिषयगत गहनतासँगै चोटिलो र घुमाउरो प्रहारले मुक्तकलाई खास उचाई प्रदान गरेको पाइन्छ ।

मुक्तक

पोखिन्छ जब उम्लेर चाहा, आफैं दु:खी हुन्छ मान्छे
इर्ष्या अग्नीमा डढेर स्वाहा, आफैं दु:खी हुन्छ मान्छे
दु:खै मात्र बाँडेको सबलाई भगवानले होइन होला
अरुको सुखमा गरेर डाहा,आफैं दु:खी हुन्छ मान्छे !

– सुनील अधिकारी

मुक्तकलाई खासमा छन्दमा बाँधेर भन्दा स्वतन्त्रतायुक्त वा छन्दविहिन तवरले लेखिने परम्परा अत्यधिक लोकप्रिय हुँदै अाएको छ । अनि मुक्तकमा चारै हरफमा समान अक्षरहरुको वितरण भएको, भरिसक्य अायताकार खालको भए उत्तम मानिने विज्ञहरुको ठहर छ । मुक्तकमा खास गरी भाव, चौथो हरफको प्रहार वा निचोडयुक्त अभिव्यक्ति, अनुप्रास वा तुक, सरल शब्दमा गहन र लाक्षणिक तथा कलात्मक अभिव्यक्ति निकै महत्वपूर्ण हुन्छन् । हरेक मुक्तक अाफैमा पूर्ण हुने मात्र नभई कविताका श्लोक र गजलका शेरभन्दा भिन्दै महत्व बोकेका र अलग खालका हुन्छन् । हामीकहाँ मुक्तकको विकास र विस्तारका लागि नेपाल मुक्तक प्रतिष्ठान लगायतका विभिन्न प्राज्ञिक व्यक्तित्व र साहित्यकारहरु बेलाबखतमा यसबारेमा छलफल , विचार-विमर्श, पुस्तक प्रकाशन, वाचन र प्रकाशनले यसको प्रचार-प्रसार र लोकप्रियतालाई शिखरमा पुर्याउन सघाएका छन् । विभिन्न पत्र-पत्रिका, साहित्यिक कार्यक्रम, संचार माध्यमहरु, अत्याधुनिक सामाजिक सञ्जालहरु, लगायतका कुराहरुले मुक्तकको लोकप्रियतालाई थप मद्दत पुर्याई रहेका छन् ।
अस्तु ।

कल्लाबारी, पाल्पा ।
२०७५/०६/०७

ताजा अपडेट

खोजी गर्नुहोस