असोज १४,धनुषा । प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले आगामी मङ्सिर २६ गते यहाँ हुने भगवान् सीताराम विवाहपञ्चमी महोत्सव भब्य रूपले मनाउनका लागि योजना बनाउन आग्रह गरेका छन ।
जानकी मन्दिरद्वारा आज आयोजित छलफल कार्यक्रममा मन्त्री साहले महोत्सव सम्पूर्ण मिथिलावासीको प्रतिष्ठा भएको बताउँदै महोत्सवलाई भव्यता दिन जनकपुरधाममा सार्कस्तरीय रामलीलाको आयोजना गर्ने अवधारणाबारे छलफल भइरहेको छ भने। उनले प्रदेश सरकारले महोत्सव भव्यरुपमा मनाउन रू ३० लाख उपलब्ध गराउने निर्णय गरेको जानकारी पनि दिए ।
गोस्वामी तुलसीदासले ‘रामायण’मा वर्णन गर्नुभएअनुसार जनकनन्दिनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्लपञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।
सीतालाई छोरी र बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको शरीर नभए पनि अदृश्य रूपमा नै उपस्थितिको विश्वासले हर्ष र उल्लाससाथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुुने गरेका छन् ।