असोज १४,काठमाडौँ । यो साता रिलिज भएको सिनेमा छिरिङ राम्रो आम्दानी गर्न पछि परेको छ ।
यो सिनेमाले राम्रो कारोबार नगर्नुमा मिडियाको मुख्य भूमिका रहेको सिनेमाका निर्देशक तथा कलाकार यश कुमारले आरोप लगाएका छन । उनले आइतबार सञ्चारकर्मीसंग कुराकानी गर्दै आफूलाई मिडियाको कत्तिपनि सपोर्ट नभएको बताएका छन् ।
खासमा शुक्रबार सिनेमाको प्रिमियर गरिएको थियो । यश कुमारका अनुसार प्रिमियरमा झण्डै २ सय जति मिडियाकर्मीको उपस्थिति थियो । त्यहाँ आएका सबैले सिनेमाको बारेमा सिनेमाका कलाकारहरुसँग बाइट पनि लिए । तर कसैले पनि सार्वजनिक गरिदिएनन् । उनले आफूलाई मिडियाको सपोर्ट नभएको गुनासो गरेका छन् ।
उनले भने, ‘मिडियाको पनि गु्रुप हुने रहेछ । जुन सिनेमाले धेरै पैसा बाँडेको हुन्छ त्यसलाई मात्र सपोर्ट गर्ने । हैन भने अरुलाई सपोर्ट नगर्ने रहेछन् ।’
मिडियाले प्रचार गरेको खण्डमा मात्रै दर्शक पनि हलसम्म सिनेमा हेर्न आउँछन् । यस हिसाबले छिरिङलाई मिडियाको सपोर्ट नभएका कारण कारोबारमा पछि परेको यश कुमारको भनाई छ ।
अहिलेसम्म सिनेमा हेरेका सबैले सिनेमा राम्रो भएको प्रतिकृया दिएका छन् । यसले भने यश कुमारलाई केही राहत दिएको छ ।
देशभरका ६० वटा हलमा प्रदर्शन सुरु गरेको छिरिङलाई यश कुमारले झण्डै २ करोडको लगानीमा निर्माण गरेका हुन् ।
अब यो सिनेमाले नेपालबाट लगानी उठाउन सक्ने सम्भावना कम देखिएको छ । उता विदेशको कुरा गर्ने हो भने पनि नेपालमा राम्रो चलेको सिनेमालाई मात्र विदेशमा माग गरिने गरिएको छ ।
यस हिसाबले ‘छिरिङ’ले लगानी उठाउन धौ धौ पर्ने देखिएको छ ।
सिनेमालाई दर्शकको खासै साथ नमिलेपछि यश कुमारले नेपालमा राम्रो सिनेमा बनाएर नचल्ने प्रतिकृया दिएका छन् ।
यो सिनेमाले हिमाली प्रदेशको जीवन शैलीलाई देखाएको छ । सिनेमामा अमेरिकामा बसेर फर्केर बसेको युवाले गाउँको विकास गर्न चाहन्छ । यहि विषयमा सिनेमा घुमेको छ । यस सिनेमामा यश कुमार, निमा रुम्बा, कामना भुजेलको मुख्य भूमिका रहेको छ ।