नागढुंगा-मुग्लिन सडक फराकिलो बनाईने, बजार क्षेत्र ४ लेन र नागढुंगा-नौविसे ३ लेन हुने

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७७ फागुन २०, बिहिबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

फागुण २०, काठमाडौ । नागढुंगा-मुग्लिन सडक स्तरोन्नति हुने भएको छ । सडक विभाग (नारायणघाट-मुग्लिन) नागढुंगा-मुग्लिन सडक योजनाले मुग्लिन-नागढुंगा सडक विस्तार प्रक्रिया अघि बढाउन लागेको हो । साँघुरो नागढुंगा-मुग्लिन सडकलाई नारायणघाट-मुग्लिन सडक खण्ड जस्तै बनाउन खोजिएको हो ।

बजार क्षेत्रमा ४ लेन, खुल्ला क्षेत्र २ लेन र नागढुंगा-नौविसे खण्ड ३ लेनमा विस्तार गर्न लागिएको (नारायणघाट-मुग्लिन) नागढुंगा-मुग्लिन सडक योजनाका प्रमुख अमृतमणी रिमालले जानकारी दिए । यो सडक खण्डको लम्बाई ९६ किलोमिटर लामो छ । यो सडक खण्डलाई ३ वटा प्याकेजमा विभाजन गरेर स्तरोन्नति गर्न लागिएको रिमालले जानकारी दिए । नागढुंगा-नौविसे, नौविसे-मलेखु र मलेखु-मुग्लिन सडक खण्डगरी तीन वटा प्याकेज बनाइएको छ ।

योजनाले नागढुंगा-नौविसे र नौविसे-मलेखु सडक खण्ड निर्माण गर्न इच्छुक निर्माण व्यवसायीसँग आसय माग गरिसकेको छ । नागढुंगा-नौविसे र नौविसे-मलेखु खण्ड निर्माण गर्न इच्छा जाहेर गर्ने निर्माण व्यवसायीको पूर्वमूल्यांकन योग्यता जाँच भइरहेको छ । यी दुई प्याकेजमा ४० वटाभन्दा बढी निर्माण व्यवसायीले आवेदन पेश गरिसकेको प्रमुख रिमालले जानकारी दिए ।

मलेखु-मुग्लिन खण्डको पूर्वमूल्यांकनका लागि आसय माग गर्ने प्रक्रियामा रहेको छ । नागढुंगा-नौविसे र नौविसे-मलेखु खण्ड निर्माणका लागि आयस व्यक्त गर्ने निर्माण व्यवासीयको मूल्यांकन २०७७ चैतसम्म सम्पन्न गर्ने योजनाको लक्ष्य छ । योजनाले सडकलाई २ लेन, ३ लेन र ४ लेनमा स्तरोन्नति गर्नेछ । नागढुंगा-नौविसे सडक खण्ड ३ लेनको हुनेछ । नागढुंगा-नौविसे सडक खण्डमा सवारीसाधनले ठाडो उकालो चढाई गर्नुपर्ने हुन्छ ।

सर्भिस लेनसहित बस्ती तथा बजार क्षेत्रका सडक ४ लेनको हुनेछ । मुग्लिन-नौविसे सडकखण्डमा २१ ओटा पुल बन्नेछन् । पुल भने सबै चार लेनको हुने बताइएको छ । हाल सञ्चालनमा रहेका पुल नभत्काई सडकको चौडाई अनुसार नै छेउमा पुल निर्माण गरिनेछ । बजार क्षेत्रमा स्थानीयलाई सडक पार गर्न सहजता प्रदान गर्न १० वटा आकाशेपुल पनि निर्माण गरिनेछ ।

नारायणघाट-मुग्लिन खण्ड विस्तारसँगै मुग्लिन-नागढुंगाको काम अघि बढाउन खोजिएको हो । मुग्लिन-नारायणघाट सडक २०७५ जेठमा विस्तार भइसकेको छ । यो सडक विश्व बैंकको ऋण सहयोगमा दुई लेनमा विस्तार गरिएको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस