असोज १६, काठमाडौं । भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिप अन्तर्गत मंगलबार नेपाल र बंगलादेश भिड्दै छन् । दुवै टोलीले सुरुआती खेल जितेका छन् ।
नेपालले पहिलो खेलमा पाकिस्तानलाई १२-० को फराकिलो अन्तरले पराजित गरेको थियो । उक्त खेलमा नेपालका लागि रेखा पौडेल एक्लैले ७ गोल गरेकी थिइन् ।
अन्य गोल रश्मीकुमारी घिसिङ, मनिषा राउत, मन्जलीकुमारी योन्जन, सरु लिम्बु र एलिसा जिम्बाले गरेका थिए ।
निकै आक्रामक रणनीतिमा खेलेको नेपालले पहिलो हाफमा नै ६ गोल हानेको थियो । बंगलादेशले पनि पहिलो खेलमा पाकिस्तानलाई १७-० ले पराजित गर्दै उत्कृष्ट सुरुआत गरेको छ ।
पाकिस्तान लिगका दुवै खेलमा पराजित हुँदै बाहिरिसकेको छ भने बंगलादेश र नेपाल सेमिफाइनल पुगिसकेका छन् । यस खेलमा विजयी हुने टोली समूह विजेता बन्नेछ ।
खेल बराबरीमा सकिएको खण्डमा बंगलादेश समूह विजेता हुनेछ । प्रतियोगिताको अर्को समूहमा भुटान, माल्दिभ्स र भारत रहेका छन् । सुरुआती दुई खेलमा भुटान र भारतले १-१ जित दर्ता गरेका छन् ।