अब बिहान ५ बजे नै पशुपतिनाथ मन्दिर निरन्तर खुला हुने, साधु सन्तको बिदाइ भोलि हुँदै

Post Thumbnail

फागुण २८, काठमाडौ । महाशिवरात्रीदेखि पशुपतिनाथ मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुने भएको छ । कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि गत वर्ष चैत ११ गते लागू गरिएको बन्दाबन्दीअघिकै समयानुसार मन्दीर खुला हुने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए ।

विसं २०७६ चैत ११ गते कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि बन्दाबन्दी जारी गरिएपछि पशुपतिनाथ मन्दिरमा भक्तजनलाई दर्शन गर्न पनि रोक लगाइएको थियो । कोरोनाको जोखिम कम हुँदै गएपछि पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म मन्दिर खुला गरिएको थियो । हिजो बिहीवार महाशिवरात्रीपछि आज शुक्रवार देखि भने विसं २०७६ चैत १० गतेसम्म खुला गरिएअनुसार मन्दिर खुला गरिएको कोषका कार्यकारी निर्देशक डा. खतिवडाले जानकारी दिए ।

आजदेखि नै पशुपतिनाथ मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुने भएको छ । मध्याह्न करिब एक घण्टा भने पशुपतिनाथको पूजा एवं भोगका लागि मन्दिर बन्द गर्ने विधि छ ।

विशेष पूजा निरन्तर

कोरोनाकालमा रोकिएको विशेष पूजा पनि कोषले फागुन २५ देखि शुरु गरेको छ । हाल एक हजार १०० देखि २७ हजारसम्मको विशेष पूजा रसिद काटेर गर्न थालिएको कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए । पशुपतिनाथ मन्दिरमा एक हजार १०० देखि २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ ।

कोषले महाशिवरात्रिको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गरेको हो । महाशिवरात्रिका अवसरमा बिहीवार भने पाँच हजार १०० र ११ हजारका गरी दुई किसिमका विशेष पूजामात्र गरिएको थियो । महाशिवरात्रिका दिन पाँच हजार १०० को रसिद काटी विशेष पूजा गर्नेबाट दुई जना र ११ हजारको रसिद काटी पूजा गर्नेका तर्फबाट चार कर्तालाई मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि तय गरेको छ । विशेष पूजाबाट कोषलाई वार्षिक नौदेखि १० करोडसम्म आम्दानी हुने गरेको छ । आर्थिक वर्ष २०७५/२०७६ मा विशेष पूजाबाट नौ करोड ४० लाख ९३ हजार १४५ आम्दानी भएको थियो । गत वर्ष चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो । कोरोनाका कारण करिब नौ महिना मन्दिरसमेत बन्द भई विशेष पूजा रोकिँदा पनि छ करोड एक लाख ८९ हजार ४७५ आय भएको कोषाध्यक्ष थापाले बताए ।

शनिवार साधु सन्तको बिदाइ

महाशिवरात्रिमा पशुपतिनाथ दर्शनमा आएका साधुसन्तलाई शनिवार दक्षिणासहित बिदाइ गरिने भएको छ । शनिवार बिहान ९ बजेदेखि साधुसन्त बिदाइको कार्यक्रम राखिएको कार्यकारी निर्देशक खतिवडाले सुनाए । यस वर्ष कोषले १०० देखि १५ हजारसम्म दक्षिणा दिएर साधुसन्त बिदाइ गर्ने तयारी गरेको छ ।

साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाइ गरिने कोषले जनाएको छ । यसैगरी गुठी संस्थानले पनि साधुसन्तलाई दक्षिणा एवं फाल्गुन शुक्ल एकादशीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले संकल्प गरेका सामग्री दिएर बिदाइ गरिन्छ । फागुन कृष्ण एकादशीदेखि औँसीसम्म संस्थान र कोषले साधुसन्तलाई बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गर्ने विधि छ ।

साधुसन्तको बिदाइ नभएकाले पशुपति क्षेत्रमा आज पनि भक्तजनको चहलपहल छ । महाशिवरात्रिका अवसरमा बिहीवार मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न नपाएका भक्तजन आज बिहानदेखि भीड लागेको कोषले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस