भारतबाट बाँकी १० लाख डोज खोप आउने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ चैत्र १, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत १ काठमाण्डौ । कोरोनाविरुद्धको खोप केही ठाउँमा अभाव भए पनि आत्तिहाल्नु नपर्ने विज्ञले बताएका छन् ।

जोखिममा रहेका वर्गलाई कोरोनाविरुद्धको खोप दिइरहेकाले आत्तिहाल्नु पर्ने अवस्था नरहेको विज्ञले बताएका छन् । सरकारले अहिले ६५ वर्षभन्दा माथिका उमेर समूहलाई कोरोनाविरुद्धको खोप वितरण गरिरहेको छ । यस्तै, हिमाली जिल्लामा ५५ वर्षभन्दा माथिकालाई खोप दिइएको छ ।

जोखिममा परेका यी वर्गलाई खोप दिइन थालेकाले खोप अभाव भए पनि आत्तिनु नपर्ने खोपसम्बन्धी विज्ञ समूहका संयोजक डाक्टर श्यामराज उप्रेतीले बताए । उनकाअनुसार केन्द्रबाट विभिन्न पालिकामा १९ लाख डोज खोप पठाएकाले अहिलेको लक्षित समूहलाई खोपले धान्ने अवस्था छ । कहीँकतै लक्षित समूहबाहेकलाई खोप दिएको वा अनुमान गरेभन्दा धेरै खोप लगाउन पुगेकाले समस्या देखिएको हुन सक्ने उनको भनाइ छ ।

सरकारले गएको २३ गतेदेखि ६५ वर्षमाथिका नागरिकलाई खोप दिन अभियान चलाइरहेको छ । तर, खरिद गरेको खोप र कोभ्याक्समार्फत आउने खोपको टुङ्गो नलाग्दा खोप अभियान प्रभावित हुने देखिएको छ । यसैबीच, सरकारले यही महिनाभित्र भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाबाट खरिद गरेको खोप नेपाल आउने जनाएको छ । कम्पनीले यही महिनाभित्र बाँकी रहेको १० लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको खोपसम्बन्धी विज्ञ समूहका संयोजक डाक्टर श्यामराज उप्रेतीले जानकारी दिए ।

यस्तै, कोभ्याक्समार्फत आउने खोपको थप १९ लाख डोज मे महिनामा आउने सम्भावना रहेको पनि उहाँले जानकारी दिए । खोप आउनासाथ पालिकाहरुसँग समन्वय गरेर वितरण गरिने हुँदा केही ढिलो गरी खोप आए पनि कुनै समस्या नहुने उनको दाबी छ । नेपालले भारतसँग २० लाख डोज खोप खरिद गरे पनि १० लाख मात्रै नेपाल भित्रिएको छ । यस्तै, यसअघि भारतले अनुदानमा १० लाख डोज खोप दिएको थियो भने कोभ्याक्समार्फत अनुदानमा तीन लाख ४६ हजार खोप नेपाल भित्रिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस