चिनीको मूल्यसम्बन्धी विवाद समाधान गर्न समिति गठन, मन्त्रिपरिषद बैठकका थप निर्णय यस्ता छन्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन २१, आईतबार (५ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असोज २१, काठमाडौं । सरकारले चिनीको मूल्यसम्बन्धी विवाद समाधान गर्न र रणनीतिक अध्ययन गर्ने गरी ७ सदस्यीय समिति गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङको संयोजकत्वमा समिति गठन गरेको हो ।

यसैगरी, गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारीलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । यसअघि गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द पोखरेलको राजीनामा स्वीकृत गरेको बैठकले महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायसँग ३ दिने स्पष्टिकरणसमेत सोधेको छ ।

यसैगरी बैठकले ऊर्जा क्षेत्रमा लगानी वृद्धि गर्न विश्व बैंक समूहको ११ अर्ब ६३ करोड ऋण र सिन्धुली बर्दिबास सडकखण्डको मर्मत–संभारका लागि जापान सरकारले प्रदान गर्ने १ अर्ब ४ करोड सहायता रकम पनि स्वीकृत गरेको छ । बैठकले नागरिक लगानी कोषका संचालकमा डा रामचन्द्र भट्टराईलाई मनोनयन गरी अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ ।

यसैबीच सरकारले श्रमजीवि पत्रकारको न्यूनतम तलब समायोजन गरेको छ । मन्त्रिपरिषद् बैठकले सञ्चार संस्थामा काम गर्ने पत्रकारलगायत सबै कर्मचारीको न्यूनतम तलब २५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको हो ।

वृद्धि भएको तलब कार्तिक १ गतेबाट लागू हुनेछ । अब श्रमजीवि पत्रकारको न्यूनतम तलब २४ हजार ३ सय ७५ पुगेको छ । यसअघि पत्रकारहरुको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय रुपैंया रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस