२१ असोज, काठमाडौं । शुक्रबार अर्थात् १९ असोजदेखि एकल प्रदर्शनमा उत्रिएको ‘निर्जला’ फिल्म हेर्न हलमा दर्शक उर्लिएको निर्माता प्रकाशचन्द्र न्यौपानेले जानकारी दिएका छन् ।
राजु गिरीको निर्देशनमा बनेको फिल्मले प्रदर्शनको पहिलो दिन शुक्रबार देशभरका हलमा औसतभन्दा माथिको ब्यापार गरेको थियो भने दोश्रो दिन शनिबार एकाएक सबै हल हाउस फूल भएको निर्देशक गिरीले बताएका छन् ।‘हलबाट दर्शक रुादै निस्कने गरेका छन्,’ निर्देशक गिरी भन्छन्, ‘हामीले सोचेको भन्दा राम्रो ब्यापार र प्रतिक्रिया छ ।
’ फिल्मको रिपोर्ट बुझ्न शनिबार निर्माता प्रकाशचन्द्र, निर्देशक राजु, अभिनेता किशोर खतिवडा, अभिनेत्री शुभेच्छा थापालगायतको ‘निर्जला’ टिम राजधानीका हलहरुमा पुगेका थिए । हलमा उनीहरुलाई दर्शकले घेरेर अटोग्राफ, सेल्फी लिनुका साथै फिल्म राम्रो लागेको भन्दै खुशी प्रकट गरेका थिए ।
‘दर्शकको प्रतिक्रिया र ब्यापार प्रति निकै खुशी लागेको छ,’ यही फिल्मबाट फिल्म निर्माण सुरु गरेका प्रकाशचन्द्रले भने,‘दर्शकले फिल्म एक्दमै मन पराएका छन् । ब्यापार निकै राम्रो भइरहेको छ । यो फिल्मबाट पाएको खुशीले अर्को फिल्म निर्माण गर्ने हौसला मिलेको छ ।’ फिल्ममा समाबेश दशै गीत, भाले मोटर र शीर्ष गीत दर्शकले औधि मन पराएको उनले बताए ।
दशैको अबसर पारेर प्रदर्शन गरिएको फिल्ममा किशोर खतिवडा, शुभेच्छा थापा, निक्स शर्मा, श्याम राई, सुरवीर पण्डित, राजकुमार थापा, पल्पसा डंगोल, रश्मी भट्ट, प्रकाशचन्द्र न्यौपाने तथा बालकलाकार काजोल गिरीलगायतका कलाकारले अभिनय गरेका छन् । रबि कोइरालाले खिचेको फिल्म तारा थापा किम्भले सम्पादन गरेका हुन । फिल्मका गीतमा बाबुल गिरीको संगीत र स्वर रहेको छ ।