असोज २५, काठमाडौं । प्रदेश नम्बर ३ सरकारले अपेक्षाअनुसारको काम गर्न नसकेको गुनासो नागरिकले गरेका छन् ।
केन्द्रीय राजधानीसमेत रहेको यो प्रदेशलाई जनताले अलि बढी अपेक्षाका साथ हेरिरहे पनि सरकार भने कानुन निर्माणमै अल्झेको देखिन्छ ।
त्यस्तै विकास निर्माणका काममा पनि उल्लेख्य उपलब्धि हासिल गर्न सकेको छैन । जसले सरकार आलोचित हुन थालेको छ ।
३ नम्बर प्रदेशमा सरकार गठन भएको ८ महिना पुग्न थालिसक्यो ।
केन्द्रमा जस्तै प्रदेशमा पनि दुईतिहाइ मतसहितको शक्तिमान् सरकार छ । तर प्रदेशमा कामको गति भने मन्द देखिएको छ ।
अहिलेसम्म जनताका अपेक्षा र घोषणापत्र अनुसार काम सुरु हुन सकेको देखिँदैन ।
अर्कोतिर १ सय ९९ ओटा कानुन प्रदेशले निर्माण गर्नुपर्ने भएपनि अहिलेसम्म १८ ओटा कानुन मात्रै निर्माण गरिएका छन् ।
स्थायी राजधानी नामाकरणको विषय पनि अझै अनिर्णित नै छ । अर्कोतिर प्रतिपक्षीले पनि सरकारको गतिविधिलाई निको मानिरहेको छैन ।
दुईतिहाइको सरकारबाट जनताले ठूलो आशा गरेको भएपनि यो सरकारले केही गर्न नसकेको नेपाली काँग्रेसका केन्द्रिय सदस्य डिना उपाध्यायको धारणा छ ।
प्रतिपक्ष मात्र होइन ७र८ महिनासम्म सरकारले साना मसिना कार्यक्रम र सभा समारोहमै आफूलाई केन्द्रित गराएकाले यसमा सुधार्नुपर्ने जनताको सुझाव छ ।
यद्यपी, प्रदेश सरकारको गौरवको योजना हेटौंडाबाट काठमाडौं जोड्ने पोष्टबहादुर बोगटी सुरुङमार्गको निर्माणको गृहकार्य भने आफैले थालेको छ ।
कानुनको अभावका कारण सोँचेजति काम गर्न नसकिएको तर अहिलेसम्म सरकारले हिड्ने बाटो पहिल्याएको र बाटो फराकिलो पार्दै त्यसमा कुँद्ने काम बाँकी रहेको ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल बताउँछन् ।
प्रतिपक्षले आलोचना गर्ने ठाउँ नपाएर आलोचनाका लागि आलोचना गरिरहेकोले त्यसको कुनै अर्थ नरहेको मुख्यमन्त्री पौडेलको टिप्पणी छ ।