केन्द्रीय कोभिड अस्पताल घोषित वीरकै बेहाल

बैशाख ३१, काठमाण्डौ । ट्रमा सेन्टरका निर्देशक डा सन्तोष पौडेलले बिहीबार बिहानै फेसबुकमा अक्सिजन अभावको स्टाटस लेखे– ‘अक्सिजनको चरम अभाव रातभर त थामियो, अब गाह्रो भयो । ट्रमा सेन्टरमा १ सय ५ जना बिरामी छन् । कृपया सहयोग चाहियो ।’

अस्पतालमा बिहीबार ६ जनाले ज्यान गुमाए । ट्रमामा लिक्विड अक्सिजनको सिलिन्डर छ तर बुधबारै अक्सिजन सकिएपछि सिलिन्डरको भर पर्नुपरेको थियो । ‘रातभरि अक्सिजन खोज्यौं, पर्याप्त पाउन सकेनौं,’ पौडेलले भने, ‘सबै निकायका पदाधिकारीलाई जानकारी गराए पनि केही उपाय नभएपछि सर्वसाधारणलाई अक्सिजन दिएर सहयोग गर्न अपिल गर्नुपरेको हो ।’ अपिलअनुसार केही सिलिन्डर सहयोगसमेत पाएको र भर्ना भएका बिरामीलाई बिहीबार दिनभरि पनि अक्सिजन जोहो गर्नुपरेको उनले बताए ।

अक्सिजन पर्याप्त नहुँदा हाइफ्लोमा दिन सम्भव नभएको उनले जानकारी दिए । धेरैजसो संक्रमितको मृत्यु हाइफ्लो अक्सिजन दिन नसक्दा भएको उनले बताए । यो अस्पतालमा दिनभरि मृत्यु भएकाको सम्झनामा ट्वीट गर्दै उनले लेखेका छन्, ‘पीडा छ हजुर, जीवनमा डाक्टर भएँ । मानव जीवनलाई माया गरें । आँखै अगाडि धेरै मृत्यु देखिरहेको छु । मजस्तै जीवनहरू तिमीहरूलाई बचाउन सकिनँ, माफ गर । हार्दिक श्रद्धाञ्जली प्रिय जीवनहरू ।’ हाइफ्लोको अक्सिजन दिन नसक्दा गम्भीर भएका बिरामीलाई बचाउन गाह्रो भइरहेको उनले बताए । ‘अहिले त कसरी हुन्छ, अक्सिजन जोहो मात्रै गर्नुपरेको छ,’ उनले भने । ट्रमासँगैको वीर अस्पतालमा पनि बिहीबार १२ जनाको मृत्यु भएको छ ।

मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले वीर अस्पतालको नयाँ भवन, ट्रमा र वीर अस्पतालको पुरानो भवनलाई समेटेर ५ सय शय्याको केन्द्रीय कोरोना अस्पताल बनाउने निर्णय गरेको थियो तर सरकारका मन्त्रीहरूले जसरी प्रचारप्रसार गरेका थिए, त्यो गतिमा काम हुन सकेको छैन । निर्णय भएको ५ दिन हुँदा पनि नयाँ भवनमा कोरोना संक्रमितलाई भर्ना गर्न सकिएको छैन । ‘पहिलो र दोस्रो तलामा ३ सय बेड राखिसकेका छौं,’ अस्पतालकी निमित्त निर्देशक डा। शान्ता सापकोटाले भनिन्, ‘भित्रको काम सकिए पनि अक्सिजन नभएर सञ्चालन गर्न सकिएको छैन ।’

पुरानो भवनमा भर्ना गरिएका बिरामीलाई अक्सिजन नभएका बेला नयाँ भवनमा भर्ना गर्न नसकिएको उनले बताइन् । वीर अस्पतालमा १ सय ८१ बिरामीको उपचार भइरहेको उनले जानकारी दिइन् । अस्पतालको प्लान्टबाट दैनिक १ सय ५० सिलिन्डर अक्सिजन उत्पादन हुन्छ तर अहिले तीन सय सिलिन्डर खपत भइरहेको उनले बताइन् । ‘हामीले १ सय २० सिलिन्डरभन्दा पाएका छैनौं,’ उनले भनिन्, ‘अहिले भएका बिरामीलाई अक्सिजन दिन सकिरहेका छैनौं । नयाँ भवनमा सञ्चालन गर्न अक्सिजन कहाँबाट ल्याउनु ’ एक तलाका बिरामीलाई २ सय सिलिन्डर अक्सिजन आवश्यक पर्ने उनले बताइन् ।

अस्पताल सञ्चालन गर्न एक सय जना नर्सलगायत अन्य जनशक्ति छनोटको चरण सकिएको छ तर नतिजा सार्वजनिक भएको छैन । ‘अक्सिजन नभएकाले जनशक्ति छनोटलाई अन्तिम टुंगो लगाएका छैनौं,’ उनले भनिन् ।

मन्त्रिपरिषद् बैठकले वीर, ट्रमा र नयाँ भवनलाई कोभिड अस्पताल सञ्चालन गर्न छुट्टै आदेशसमेत गरेको थियो । वीर अस्पताल न्याम्सअन्तर्गत भए पनि नयाँ भवन स्वास्थ्य मन्त्रालयमातहत छुट्टै विकास समिति गठन गरेर सञ्चालन गर्न लागिएको जनाएको थियो । अस्पताल सञ्चालन गर्न मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलको नेतृत्वमा ५ सदस्यीय समिति गठन गर्ने मन्त्रालयले घोषणा गरेको थियो । ‘मैले पनि मिडियामा सुनेको थिएँ,’ सापकोटाले भनिन्, ‘मन्त्रालयबाट यस विषयमा केही पनि जानकारी आएको छैन ।’

बिरामी छटपटाइरहन्छन्, अक्सिजन अरूले लैजान्छन्

अस्पतालले बालाजुको शंकर अक्सिजन ग्यास उद्योगसँग सम्झौता गरेर आपूर्ति गरिरहेको थियो । अक्सिजनको हाहाकार भएपछि कम्पनीले थोरै उपलब्ध गराएपछि रातभरि अक्सिजन खोज्न आफैं खटिएको ट्रमाका निर्देशक पौडेलले बताए । ‘कम्पनीले बिहीबार १ बजे ५० सिलिन्डर ल्याइदिएको थियो, अर्को चार घण्टामा ५० सिलिन्डर दिने जानकारी गराएको थियो, साँझसम्म पनि अक्सिजन आएन,’ उनले भने, ‘अस्पतालमा अक्सिजन सकिन थालेपछि कम्पनीलाई खोइ त हाम्रो अक्सिजन भनेर सोध्यौं तर हामीलाई दिन ठिक्क पारेको अक्सिजन त प्रहरीले लग्यो भन्ने जवाफ दियो,’ उनले भने, ‘प्रहरीले कसका लागि लैजान्छ होला यता अस्पतालमा बिरामी छटपटाइरहेको हुन्छ । हाम्रा लागि लोड भएको अक्सिजन प्रहरीले लगेपछि गृह मन्त्रालयमा समेत गुनासो गर्नुपर्‍यो ।’

प्रहरीले लगेको सिलिन्डरलाई लक्षित गर्दै पौडेलले साँझ ट्वीटमा लेखेका छन्, ‘सिलिन्डरको बिस्तारा त बनिनैसक्यो होला, झुक्किएर नओडिबक्सेला है हजुर ।’ आफ्नो अस्पतालका लागि लोड भएको अक्सिजन प्रहरीले लगेपछि कम्पनीलाई हारगुहार गर्दा साँझ १० सिलिन्डरमात्रै उपलब्ध गराइएको उनले बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले प्रहरीले अक्सिजन उद्योगमा आएकालाई लाइन मिलाउने र अस्पतालमा परेको समस्याका बारेमा उद्योगसँग समन्वय गराउन सहयोग मात्रै गरिरहेको बताए । ‘हामीले अक्सिजन लिएर कहाँ लैजानु ?,’ उनले भने । कान्तिपुर दैनिकमा मकर श्रेष्ठले खबर लेखेका छन् ।

संम्बन्धित समचार

Leave a Reply