कलासाहित्य यात्रा भव्य रुपमा सम्पन्न

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७५ आश्विन २६, शुक्रबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असोज २६, काठमाडौं । सामान्यतया केवल अनुत्पादक राष्ट्रको गहना ठानिने कलासाहित्य यथार्थमा राष्ट्रको धड्कन हो, जुन धड्कनबिना राष्ट्रको जीवन्त अस्तित्व नरहने सत्यलाई कलासाहित्य डट कम प्रतिष्ठानले चरितार्थ पारेको यथार्थ स्रष्टाहरूले महसुस गरेका छन् । सन्दर्भ हो भरखरै सम्पन्न प्रतिष्ठानको काठमाडौँदेखि महेन्द्रनगरसम्मको छ दिने कलासाहित्य यात्रा ।

शब्दमा लेखेर मात्र हुँदैन लेखेका, देखेका कुरा व्यवहारमा पनि उतार्नु पर्छ । वास्तविक साहित्यकार त्यो हो जसले प्रकृतिलाई नजिकबाट चिनेको हुन्छ । यसै हेतु मेरो राष्ट्र मेरो ध्येयको नारासहित विगत १२ वर्षदेखि नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले देशको विभिन्न भूभागमा साहित्यकारहरुलाई विचरण गराएर स्थानीय संस्थासँग सहकार्य गरी सोही ठाउँमा भव्य सिर्जना उत्सव सम्पन्न गर्दै आएकोमा यस पटक पनि धनगढीमा प्रकृति सिर्जना उत्सव २०७५ भव्य रुपमा सम्पन्न गरेको छ ।

प्रकृति सिर्जना९उत्सवमा देशका विभिन्न भूभागका १७ जना कवि साहित्यकारहरुलाई त्रिवेणीधाम नवलपरासी, बुटवल, घोडाघोडी ताल कैलाली, धनगढी, शुक्ला फाँटा वन्यजन्तु आरक्षण राष्ट्रिय निकुन्ज कन्चनपुर,सारदा ब्यारेज ठाउँहरुमा अवलोकन भ्रमण गराइएको थियो । यसभन्दा अगाडि प्रतिष्ठानले नेपालगन्ज, पोखरा, चितवन,गैडाकोट, इलाम, विराटनगर, नवबुध्द काभ्रे, मुस्ताङ, भैरहवा, धनकुटा,जाजरकोट,लमजुंग जस्ता ठाउँहरुमा कलासाहित्य९यात्रा सम्पन्न गरिसकेकोछ ।

यात्रामा प्रतिष्ठानका उपाध्यक्ष,कवि एवं समाजसेवी कवि राजेश्वर कार्कीको नेतृत्वमा कोहलपुरको जाजरकोटी समाजलाई पुस्तक हस्तान्तरण गरियो । जाजरकोटी समाजले कार्कीलाई सम्मान गरिरहँदा कार्की भावुक बनेका थिए । त्यसैगरी मध्यपश्चिम क्षेत्रकै केन्द्रको रुपमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालयलाई पनि पुस्तक हस्तान्तरण गरिएको थियो । कवि केशव सिग्देल संस्थापक अध्यक्ष रहेको उक्त पुस्तकालयमा साहित्य यात्रामा गएका साहित्यकारहरुलाई भव्य स्वागत गरिएको थियो ।

सोही यात्राअन्तर्गत प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यतामा धनगढीमा भएको कार्यक्रममा कला साहित्य डट कम प्रतिष्ठानका अध्यक्ष मोमिला जोशी र नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान कैलालीका अध्यक्ष पद्मराज जोशीले संयुक्त सभापतित्व ग्रहण गरेका थिए ।

उत्सवमा कला साहित्य डट कम प्रतिष्ठानले सुदूरपश्चिमका अग्रणी साहित्यकार पदमराज जोशीलाई रु २५ हजार रुपैयाँसहित यस वर्षको योगेश्वर कलासाहित्य पुरस्कार समर्पण गरेको छ । कवि राजेश्वर कार्कीको बुवाको सम्झनामा स्थापना भएको उक्त गौरवपूर्ण पुरस्कार विभिन्न जिल्लाका शसक्त कलम चलाउँदै आएका स्रष्टाहरुलाई प्रदान गरिंदै आएको छ । स्थानीय स्तरका सिर्जनालाई प्रोत्साहन गर्ने हेतुले उक्त पुरस्कार समर्पण गरिएको हो ।

कार्यक्रममा बोल्दै विशेष अतिथि कवि एवं नाट्यकर्मी अशेष मल्लले यस्ता कार्यक्रम भइरह्यो भने नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

त्यसैगरी प्रतिष्ठानकै कोषाध्यक्ष सुन्दर बस्नेतद्वारा तयार पारिएको सिङ्गो देशको दिजिटल देशदर्शनपछि प्रमुख अतिथि भट्टले साहित्यकार भनेको देशलाई भविष्यको आकाश दिने वर्ग भएको कुरा बताए ।

कार्यक्रममा अशेष मल्ल, मञ्जु काँचुली,मोमिला जोशी, लक्ष्मण गान्नागे, डा। हरिप्रसाद मानसाग्नि, युवराज नयाँघरे, राजेश्वर कार्की, भूपिन खड्का, केशव सिग्देल , डा।जंगब चौहान, मणि लोहनी, अमृता स्मृति र जीवन खत्री लगायत स्थानीय कविहरुले समेत कविता वाचन गरेका थिए ।

उक्त प्रकृति सिर्जना उत्सवमा बोल्दै, कवि एवं निबन्धकार मोमिला जोशीले कार्यक्रमको विषयवस्तु र औचित्यमाथि प्रकाश पारे। उनी भन्छन्, “कर्म नै सबैभन्दा सुन्दर सत्य हो, कुरामात्र नभएर कलासाहित्य डट कम प्रतिष्ठानले उदाहरणीय कार्य गर्दै आएको छ । गैह्रसरकारी संस्थाहरुको समेत विशेष ध्यान गइरहेको अवस्थामा सरकारी संस्था विशेष साहित्यिक कार्य योजनाका साथ आउन जरुरी छ, जुन अहिलेसम्म हुन सकेको छैन ।”सबैको सहयोग,सद्भावले कार्यक्रम सफल भएकोमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस