सङ्घीयताकै आधारमा आवास पुनःनिर्माणको जिम्मेवारी स्थानीय तहलाई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ आश्विन २६, शुक्रबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

असोज २६,काभ्रेपलाञ्चोक । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सङ्घीयताकै आधारमा आवास पुनःनिर्माणको जिम्मेवारी स्थानीय तहलाई दिइने बताएका छन ।

काभे्रपलाञ्चोकको धुलिखेलमा आर्थिक पत्रकार समाजद्वारा पुनःनिर्माणबारे आर्थिक पत्रकारका लागि आज धुलिखेलमा आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले भने, “आवास पुनःनिर्माण स्थानीय समिति बनाएपछि सोही समितिले अनुगमन गरी समस्या र चुनौतीबारे मूल्याङ्कन गर्दै गुणस्तरीयरुपमा काम सम्पन्न गराउँछ ।”

उनले स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, राष्ट्रिय मान्यता प्राप्त दलका प्रतिनिधि रहने स्थानीय पुनःनिर्माण समिति बनाइने तथा त्यसको प्रदेश सांसद, जिल्लास्थित समन्वय अधिकारीले अनुगमन गर्ने नीति बनाइने बताए। उनले स्थानीय तहमा प्राधिकरणको संरचनाभित्र स्थानीय तहमा गएका शिक्षा, शहरी विकासलगायतको कर्मचारीलाई राखिने बताए। “आवास कति बने, कति बन्दैछन्, कस्ता बने भन्ने सबै प्रतिवेदन स्थानीय समितिले तयार पार्दछ” उनले भने ।

प्रमुख ज्ञवालीले प्राधिकरणले ‘एक पालिका, एक एकीकृत बस्ती’ योजना ल्याइने र यसबाट पातलिएका बस्तीमा हुने पूर्वाधारका बजेटमा बचत हुने बताए । उनले दुई हजार परिवारको बस्ती स्थानान्तरण गर्नुपर्ने र १८ हजार परिवार सामाजिक, आर्थिक जोखिममा रहेकाले आर्थिक उपार्जनका कार्यक्रम ल्याउनु आवश्यक रहेको बताए ।

उनले हालसम्म कूल लाभग्राहीमध्ये ९७ प्रतिशतले पहिलो किस्ता अनुदान रकम, ६७ प्रतिशतले दोस्रो किस्ता र ३० प्रतिशतले तेस्रो किस्ता लिइसकेको बताए । उनले भने, “यो प्रगति हेर्दा निरास हुनुपर्ने देखिन्न, पाँच वर्षमा आवास निर्माण सकिन्छ, समय थप्नुपर्छ जस्तो लाग्दैन ।” समग्रमा ७५ प्रतिशत आवास बन्दै गरेको सर्वेक्षणले जनाएको र बाँकी रहेको दुई वर्ष तीन महीनामा सकिने उनको धारणा थियो ।

यसैबीच, प्रमुख ज्ञवालीले काठमाडौँस्थित ऐतिहासिक सम्पदा रानीपोखरी निर्माणको काम एक वर्षमा सकिने दाबी गरेका छन । उनले रानीपोखरीको पुनःनिर्माण तीन खण्डमा विभाजन गरी सम्पन्न गरिने योजना बनाइएअनुसार पहिला वरिपरिको पर्खाल बनाउने, पोखरीको तल पानी भर्ने तथा अड्याउने योजना र पोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर बनाउने बारे छलफल भइसकेको बताए ।

यस्तै, काष्ठमण्डप पुनःनिर्माणको कामका लागि चाहिने गुणस्तरीय लामो काठ महोत्तरीबाट ल्याउन वन मन्त्रालयसँग सम्झौता भइसकेको र गुणस्तरीय इँटा पनि आउँदो कात्तिकबाट उत्पादन शुरु हुने बताए । उनले भने, “काष्ठमण्डप निर्माणका लागि विशेष कालीगड पनि तयार भइसकेका छन् ।” उनका अनुसार राष्ट्रपति भवन, सिंहदरबार तथा गुम्बा पुनःनिर्माणका लागि सरोकारवालासँग छलफल भइरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस