असोज २७, काठमाडौं । दसैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी व्यापारीले चालू आवको साउनदेखि असोज १५ गतेसम्म भारत तथा तेस्रो मुलुकबाट ८ अर्ब २८ करोड १८ लाख रुपैयाँ बराबरका सवारीसाधन नेपाल भित्र्याएका छन् ।
भारत तथा तेस्रो मुलुकबाट सवारीसाधन नेपाल भित्रिएपछि वीरगन्ज भन्सार कार्यालयलाई कूल राजस्वको ४० प्रतिशत ती सवारीसाधनबाट उठेको भन्सार अधिकृत सन्तोष यादवले जानकारी दिए । चालू आवको साउनदेखि असोज १५ गतेसम्ममा भारत तथा तेस्रो मुलुकबाट ५१ हजार ६८० थान मोटरसाइकल तथा अटोरिक्सा, एम्बुलेन्स, ट्र्याक्टर, जीप, कार, भ्यान, विद्युतीय गाडी, बस, मिनीबस तथा माइक्रोबस नेपाल भित्रिएको छ । नेपाल भित्रिने सवारीसाधनमा ९० प्रतिशत भारतबाट तथा १० प्रतिशत तेस्रो मुलुकबाट रहेको छ ।
यसैगरी आव २०७४-७५ को साउनदेखि असोज १५ गतेसम्ममा भारत तथा तेस्रो मुलुकबाट ६ अर्ब ८६ करोड १२ लाख रुपैयाँको ५० हजार ८५६ थान सवारीसाधन नेपाल भित्रिएको थियो । मूल्य वृद्धि, करको दायरा फराकिलो हुनु तथा माग बढी भएकाले यस वर्ष सो अवधिमा गाडीको संख्या र रकम बढ्न गएको भन्सार अधिकृत यादवले बताए ।
सरकारले चालू आवदेखि खरीद गरिएको गाडीको मूल्यको ८० प्रतिशत भन्सार महशुल, ६० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लिने गरेको छ । बिक्रेताले गाडीको बुकिङ र राजस्व बुझाउने काम समयमै नगरेपछि नेपालतर्फको आइसिपी, सुख्खा बन्दरगाह र भारत रक्सौलको पन्टोका क्षेत्रमा हुन्डाई, मारुती, सुजुकी, फोर्ड महिन्द्रा, निशान, रिनल्ट, नेकशन, टाटा, टोयटा, मर्सिडिजलगायत जीप, कार, भ्यान, पिकअप, ट्रक, टिपर, मिनीबस, ट्र्याक्टरलगायत सवारीसाधन रोकिएका छन् ।
भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका गाडी नेपाल–भारत दुवैतर्फ गरी २ हजार ५०० भन्दा बढी सवारीसाधन रोकिएका छन् । दसैँ, तिहार र छठमा बिक्रेताले विभिन्न प्रकारको उपहार योजना राख्ने तथा माग पनि बढ्न गएकाले बिक्री बढ्ने हुँदा वीरगन्ज नाकाबाट ठूलो परिमाणमा सवारीसाधन नेपाल भित्रिने गरेको हो । संघीय सरकारले वीरगन्ज भन्सार कार्यालयलाई आव २०७५÷७६ मा १७१ अर्ब राजश्व उठाउने लक्ष्य दिएको छ ।