असोज २८,मोरङ । । सुनसरी हरिनगर–२, भुटाहाका शिक्षक खुर्सिद आलम अन्सारीको हत्यामाथि छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको टोलीले प्रतिवेदन बुझाउन ढिलाइ गरेको छ ।
४ असोजमा खुर्सिदको हत्या भएपछि हत्या अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय, विराटनगरका एसएसपी किशोर दाहालको संयोजकत्वमा समिति गठन भएको थियो ।
१५ दिनभित्र छानबिन प्रतिवेदन पेस गर्ने गरी जिम्मेवारी दिइए पनि अझैसम्म समितिले प्रतिवेदन नबुझाएको हो । अहिले समितिलाई दिइएको समयसिमा सकिएर पनि ५ दिन बितिसकेको छ ।
छानबिन समितिका अधिकारीले भने फिल्डको काम सकेर प्रतिवेदन तयार पार्ने काम गरिरहेको स्पष्टिकरण दिएका छन् । तर, १५ दिन समय खर्चिएको छानबिन टोलीले हत्याको कारण भने पत्ता लगाउन नसकेको समितिले एक अधिकारीले बताए ।