मकवानपुरका दुई स्वास्थ्य चौकीलाई एक्सपर्टको अक्सिजन कन्सट्रेटर सहयोग

Post Thumbnail

असार ७, काठमाडौ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, हेटौंडाले मकवानपुरका दुई स्थानीय तहलाई अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसले एक्सपर्ट फाउण्डेशन मार्फत आज (सोमबार) एक कार्यक्रमकाबीच कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिकालाई एक÷एक थान अक्सिजन कन्सट्रेटर सहयोग गरेको हो । एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान र मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँलाई १० लिटर क्षमताको सो अक्सिजन कन्सट्रेटर हस्तान्तरण गरेका हुन् ।

अक्सिजन कन्सट्रेटर ग्रहण गर्दै कैलाश गाउँपालिकाका अध्यक्ष मोक्तानले माहामारीसंग लड्न र अन्य समयमा पनि बिरामीलाई सहज उपचार पाउनका लागि अक्सिजन कन्सट्रेटरले महत्वपूर्ण सहयोग गर्ने बताए । उनले यही सामग्रीले कैलाशका जनताको ज्यान जोगाउन सहयोगी बन्ने भएकाले एक्सपर्टलाई सिंगो गाउँपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गरे । उनले गाउँपालिकाकाले प्रत्येक स्वास्थ्य चौकीमा अक्सिजनसहितको सेवा दिने तयारी गरिरहेको बेला यो सहयोगले थप हौसला मिलेको बताए । उनले सहयोग प्राप्त अक्सिजन कन्सट्रेटर गाउँपालिका भित्रको नामटार स्वास्थ्य चौकीमा प्रयोगमा ल्याइने बताए ।

यस्तै अक्सिजन कन्सट्रेटर ग्रहण गर्दै मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले अक्सिजन कन्सट्रेटरको पूर्ण रुपमा सदुपयोग गरिने बताए । उनले गाउँपालिका भित्र २ सय भन्दा बढी कोरोना भाइरस संक्रमित फेला परिसकेको भन्दै अक्सिजनको आवश्यकता अझै उत्तिकै रहेको बताए । उनले यस सामग्रीले अक्सिजन आवश्यक पर्ने बिरामीलाई गाउँपालिका भित्रै उपचार गर्नमा सहयोग मिल्ने भन्दै सहयोगका लागि एक्सपर्ट परिवारलाई धन्यवाद दिए ।

अक्सिजन कन्सट्रेटर सहयोग हस्तान्तरण गर्दै एक्सपर्टका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले केन्द्रीय कार्यालय अष्ट्रेलियाबाट प्राप्त भएको अक्सिजन कन्सट्रेटर आवश्यक क्षेत्रमा प्रदान गरिएको बताए । उनले सुगम क्षेत्रमा भन्दा पनि दुर्गम क्षेत्रका जनताले सहज रुपमा अक्सिजन पाउन समस्या झेल्नु पर्ने गरेकाले त्यस्तो ठाउँमा सहयोग गरिएको बताए । उनले देशमा आइपर्ने हरेक आपतविपत्मा एक्सपर्टले सहयोगी भूमिका खेल्दै आइरहेको भन्दै आगामि दिनमा पनि आवश्यक सहयोग गर्दै जाने बताए । एक्सपर्टको केन्द्रीय कार्यालयबाट प्राप्त अक्सिजन कन्सट्रेटर नेपालका विभिन्न शाखा मार्फत आवश्यक स्थानमा हस्तान्तरण गरिरहेको छ । हस्तान्तरण कार्यक्रममा एक्सपर्टका लेखा प्रमुख किरण पौडेल, एक्सपर्ट हेटौंडाका अच्युत चालिसे, पत्रकार शिव रिजाललगायतको उपस्थिति रहेको थियो ।

सामाजिक उत्तरदायित्व तथा सामाजिक सेवामा प्रतिबद्ध व्यावसायिक संस्था एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लिले पनि एक्सपर्ट फाउन्डेसन मार्फत विभिन्न सरकारी निकायहरुको सहकार्यमा कोभिड–१९ को असरमा परेकाव्यक्तिहरुलाई विभिन्न सहायताहरु प्रदान गर्दै आएको छ । यस संस्थाले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीलाई विभिन्न राहत प्याकेजहरु वितरण गरेको छ भने नेपालका विभिन्न स्थानमा खाद्यान्न वितरण, अक्सिजन सिलिन्डर वितरण, रक्तदानलगायतका सहायताहरु प्रदान गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस