असोजदेखी सिलिगुडी–चारआली पेट्रोलियम पाइपलाइनको काम शुरु हुन्छ: मन्त्री यादव

असार ७, काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले भारत सरकारसँग सिलिगुडी–चारआली क्रसबोर्डर पेट्रोलियम पाइपलाइनको काम चाँडो गर्ने विषयमा समन्वय गरिरहेको बताएका छन्।

आइतबार झापा पुगेका मन्त्री यादवले पाइपलाइन परियोजना तथा भण्डारण गृह निर्माणस्थलको निरीक्षण गर्दै यसको चाँडै काम सक्ने तयारीमा रहेको बताए। ‘यो हाम्रो गौरवको आयोजना हो, प्रारम्भिक सर्भे कार्य सकिएको छ,’ उनले भने ‘असोजदेखि सिलिगुढीको डिपोबाट निगमको चारआलीस्थित भण्डारण गृहसम्मको ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजना जीटुजीमार्फत हुने गरी भारतसँग समन्वय गर्दैछौं।’

मन्त्री यादवले भण्डारण गृह निर्माणस्थलको निरीक्षणपछि प्रस्तावित परियोजना पूर्वी नेपालको महत्त्वपूर्ण र गौरवको योजना भएकाले यसको निर्माणमा विशेष प्रयत्न गरिरहेको बताए। ‘जुनै पार्टीको सरकार आए पनि यो काम रोकिनेवाला छैन,’ उनले भने, ‘यो पार्टीले गरेको काम होइन, सरकारले गरेको काम भएकाले निर्माण हुनेमा आशंका नगरे हुन्छ।’

पाइप लाइनको माध्यमद्वारा चारआलीको भण्डारण गृहसम्म पेट्रोलियम पदार्थ आउन सुरु गरेपछि विगतमा हुँदै आएको चोरी निकासी र कर्मचारीको बदमासीसमेत रोकिने मन्त्री यादवको दाबी छ। ‘विगतमा ट्यांकरबाटै पेट्रोलियम पदार्थ चोरी भयो भन्ने गुनासो आउँथ्यो’, उनले भने ‘त्यो रोकिन्छ, पारदर्शिता र सुशासन कायम गर्न बल पुर्‍याउँछ, सरकारले चाहेको पनि यो नै हो।’ शनिबार साँझ प्रदेश १ आएका मन्त्री यादवले विराटनगरको आयल निगमको अनुगमन गर्नुको साथै कर्मचारीलाई आपूर्ति सहज रूपमा मिलाउन निर्देशन दिएका थिए।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले मन्त्री यादवलाई पेट्रोलियम पाइपलाइन निर्माणको प्रारम्भिक इन्जिनियरिङ सर्भे सकेको जानकारी गराएका थिए। अब काम सुरु भएको दुई वर्षभित्रमा ‘प्रोजेक्ट’ सकिने पौडेलको भनाइ छ। झापामा निर्माण गर्न लागिएको भण्डारण गृहले प्रदेश १ मा ९० दिनसम्म पेट्रोलियम पदार्थ धान्ने क्षमता राख्ने आयल निगमले जनाएको छ।

परियोजना निर्माणका लागि भारतीय मूल्य रु ७ अर्ब २ करोड लागत लाग्ने बताइएको छ। मेचीनगर नगरपालिका–१३ मा रहेको निगमको २३ बिघा जमिनमा भण्डारण गृह निर्माण गरिनेछ।

फरक विषयमा अन्नपूर्णसँग कुरा गर्दै मन्त्री यादवले कोरोना महामारीका कारण धराशायी बनेको औद्योगिक क्षेत्रको पुनरुत्थान र संरक्षण गर्दै गतिशील बनाउन आफू सरकारमा आएदेखि नै गृहकार्य गरिरहेको बताए।

‘मुलुकमा उद्योग मैत्री वातावरण बनाउने र बेरोजगारी अन्त्य गर्ने मेरो मूल उद्देश्य हो,’ उनले भने ‘देशमा जबसम्म रोजगारीको सिर्जना गर्न सकिँदैन तबसम्म आर्थिक समस्या समाधान हुँदैन।’

नेपालमा औद्योगिक विकास गर्न सकियो भने बेरोजगारी समस्या आफैं समाप्त भएर जाने उनको भनाइ छ।

आइतबार झापाको काँकडभिट्टा स्थित भन्सारको अनुगमन गर्दै मन्त्री यादव ।

संम्बन्धित समचार

Leave a Reply