असोज ३०, काठमाडौं । दुई सातादेखि बेपत्ता भएका साउदी अरेबियाका पत्रकार जमाल खसोगीका विषयमा साउदीका राजा सलमानसँग जरुरी वार्ता गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पियो साउदी अरबतर्फ गएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री पोम्पियोलाई साउदी राजासँग कुरा गर्न त्यसतर्फ पठाएका हुन् ।
राष्ट्रपति ट्रम्पले राजा सलमानसँग टेलिफोन वार्ता गरेपछि तुरुन्तै साउदी अरेबियातर्फ जान विदेशमन्त्री पोम्पिओलाई निर्देशन दिएका हुन् ।
राष्ट्रपति ट्रम्पले आफूलाई राजा सलमानले ती पत्रकारका सम्बन्धमा के भएको हो भन्नेबारे कुनै जानकारी नभएको बताएको प्रतिक्रिया दिएका छन् ।
राष्ट्रपति ट्रम्पले पत्रकार बेपत्ता हुनुको पछाडि ‘बदमास हत्याराहरू’ जिम्मेवार रहेको हुनसक्ने बताए ।
उनले साउदी राजा सलमानसँग बेपत्ता भएका पत्रकार खसोगीका विषयमा विदेशमन्त्रीले विस्तृत कुरा गर्ने जानकारी दिए ।
साउदी राजासँग कुरा गरेपछि विदेशमन्त्री तत्कालै टर्की जाने र त्यहाँका अधिकारीहरुसँग छलफल गर्ने बताइएको छ ।
टर्कीका अधिकारीहरूले यही अक्टोबर २ तारिखमा इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा जमाल खसोगीको हत्या भएको दाबी गर्दै आएका छन् ।
तर साउदीका अधिकारीहरूले भने जमाल खसोगी नियमित काम सकेर वाणिज्य दूतावासबाट बाहिरिएको जिकिर गर्दै आएका छन् ।