विप्लवका थुनामा रहेका नेता कार्यकर्ता अझै नछुटेको भन्दै ध्यानाकर्षण

असार २१, काठमाण्डौ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आफ्ना थुनामा रहेका नेता कार्यकर्ता अझै नछुटेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगी भेटेरै विप्लव समूहका दुई नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धमेन्द्र बाँस्तोलाले सरकारले वार्ताका क्रममा भएका सहमतिअनुसार आफ्ना नेताकार्यकर्तालाई नछाडेको भन्दै आपत्ति जनाए ।

सरकार विप्लव समूहबीच चार महिना अघि अर्थात् २१ फागुन २०७७ मा तीनबुँदे सहमति भएको थियो । सो सहमतिमा विप्लव समूहले शान्तिपूर्ण राजनीतिको मार्गमा आउने प्रतिबद्धता जनाएको थियो भने सरकारले विप्लव नेतृत्वको दलमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने र जेलमा रहेका नेताकार्यकर्ता छाड्ने भनेको थियो ।

तर, सहमतिको चार महिना बित्दा पनि आफ्ना नेता कार्यकर्तालाई सरकारले थुनामुक्त नगरेको र कतिपयको मुद्दा नै चलिरहेको भन्दै सो समूहले सहमति कार्यान्वयन गर्दै थुनामा रहेका आफ्ना नेता कार्यकर्तालाई छाड्न सरकारसँग आग्रह गरेको हो । हाल विप्लव समूहको दलका केन्द्रीय कमिटी सदस्य हेमन्तप्रकाश ओली सुदर्शन, चुडामणी ओली आदर्श र रणवीर थुनामा नै छन् । उनीहरूसहित १ सय २५ बढी नेता कार्यकर्ता थुनामा छन् ।

विप्लव समूहका नेता प्रकाण्डले प्रधानमन्त्रीलाई सहमति कार्यान्वयन गर्न १० दिनको समय दिँदै ध्यानाकर्षण गराइएको जानकारी दिए । ‘सहमति कार्यान्वयनमा सरकारबाट चासो देखाइएन, हामीले सरकारलाई सहमतिको पालनामा प्रतिबद्ध रहन आग्रह गर्दै १० दिनको समय दिएका छौं,’ विप्लव समूहका नेता प्रकाण्डले भने । यो समाचार राजधानी दैनिकमा छ ।

संम्बन्धित समचार

Leave a Reply